२०८१ माघ २, बुधवार , १०:३४:०५ बजे

Sajhamanch
'

चारपानेमा घरेलु हिंसा सम्बन्धि कानून र कानुनी प्रावधानबारे अभिमुखिकरण

शुक्रवार, फागुन २६, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज शुक्रबार घरेलु हिंसा सम्बन्धि कानून र कानुनी प्रावधानबारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित कार्यक्रममा सहभागीहरुलाई महिला हिंसा र कानूनी प्रक्रियाका बारेमा जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पछिल्लो समय महिला हिंसासँगै पूरुष हिँसा पनि बढ्दै गएको बताए । उनले सामाजिक सञ्जाल प्रयोगमा सचेतना अपनाउन सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर उपप्रमुख संग्रौलाले लागुऔषधका कारण पनि विभिन्न प्रकारका हिंसा हुने गरेको भन्दै सभ्य समाज निर्माणका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

यस्तै कार्यक्रमका प्रशिक्षक अधिवक्ता कविता शर्माले पछिल्लो तथ्याङ्क अनुसार समाजमा ८२ प्रतिशत महिला श्रीमानबाट पिडित रहेको औंल्याइन् । उनले महिलाहरुलाई यौनसँग मात्रै जोडेर हेर्ने गरिएको कारण हिंसा बढ्दै गएको बताइन् ।

आत्मसम्मानमा चोट पुर्याउनु पनि हिंसा रहेको भन्दै शर्माले सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिएकी थिइन् ।

यस्तै ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सुरज कार्कीले बिर्तामोडमा मात्रै वार्षिक १८० वटाभन्दा बढी हिंसाका मुद्धा दर्ता हुने गरेको तथ्याङ्क सुनाए ।

पुरुषको तुलनामा महिलाहरु बढी हिंसामा पर्ने गरेको भन्दै डिएसपी कार्कीले हिंसाको घटना भएको मितिले ९० दिन भित्रमा प्रहरीमा उजुरी दिन सकिने अवगत गराए । डिएसपी कार्कीले सहभागीहरुलाई घरेलु हिंसाका बारेमा कसुर, सजाय, कानुनी प्रक्रिया र उपचारका बारेमा जानकारी दिएका थिए ।

कार्यवहाक वडाअध्यक्ष ओमनाथ गौतमको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, शर्मिला राजवंशी, संगीता शिवा, वडासदस्य शर्मिला तिखत्री, चेतन बिमली, सहारा नेपालका कमला थपलिया लगायत ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर