कनकाई । झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई र जुनतारा महिला फुटबल क्लब खुदुनाबारीबीच आज प्रतिस्पर्धा हुने भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज फागुन २४ गते कनकाई माविको खेल मैदानमा सम्पन्न हुने प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई महिला फुटबल क्लव र जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले निर्णायक प्रतिस्पर्धाका लागि यात्रा तय गरेका हुन् ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको छ ।
प्रतियोगिताको सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा भद्रपुरलाई पाखा लगाउँदै जुनतारा फाइनलमा प्रवेश गरेको हो । त्यसअघि नै कनकाईले पारिजात महिला फुटबल क्लव सालबारीलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको थियो ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते सम्पन्न हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सम्बोधन गर्ने कार्यक्रम रहेको कनकाई खेलकुद प्रतिष्ठानका सल्लाहकार रामप्रसाद निरौलाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार, दोस्रो हुनेले नगद ५० हजार पुरस्कार साथै दुवै टिमले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सल्लाहकार निरौलाले बताए ।
प्रतियोगितामा हरेक दिनको प्लेयर अफ दि म्याचको पुरस्कार नगद २ हजार कनकाई -३ निवासी उद्यमी, व्यवसायी बिरेन्द्रप्रकाश मैनालीबाट प्राप्त भइरहेको छ । प्रतियोगिताको समापनसँगै विधागत तर्फ उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र प्लेयर अफ दि सिरिजलाई जनही नगद ३ हजार प्रदान गरिने प्रतिष्ठानका सचिव मान्ता खरेलले वताइन् ।