२०८२ जेठ २५, आइतवार , ०१:४३:४८ बजे

Sajhamanch
'

चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा महापुराण आयोजना गरिँदै

मङ्गलवार, फागुन २३, २०७९

मेचीनगर । झापाको मेचीनगर १३ चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा सप्ताहव्यापी श्रीमद् भागवत् महापुराण ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी चैत्र ८ गतेदेखि १६ गतेसम्म सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको आयोजक संस्था पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिएका छन् ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवउद्धार र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होओस् भन्ने उद्देश्यले महापुराणको आयोजना गर्न लागिएको अध्यक्ष गिरीको भनाई छ ।

महायज्ञको समुद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने जनाइएको छ । महायज्ञमा आचार्य पण्डित शान्तिराम नेपालको मुखारविन्दबाट प्रवचन साथै आचार्य पण्डित पुण्यप्रसाद रिजालबाट पाठ पारायण हुने प्रचारप्रसार उप समितिका संयोजक यामनाथ बरालले बताएका छन् ।

चैत्र ८ गते शोभा कलशयात्रा, मण्डप पुजन, पाठपरायण कथा प्रारम्भ साथै विविध झाँकीसहित उद्घाटनको कार्यक्रम राखिएको छ । चैत्र ९ गतेदेखि १६ गतेसम्म कथा प्रवचन गरिने कार्यसूचि बनाइएको प्रचार समिति सदस्य खगेन्द्र घिमिरे बताउँछन् ।

चारआलीस्थित नेपाली सैनिकको ब्यारेकको उत्तर पश्चिमपट्टि रहेको एउटा अनौठो रुखको फेदमा गएर माटो समाई मन्त्र उच्चारण गर्दा त्यही ठाउँमा मात्रै वर्षा भएपछि उक्त ठाउँमा दैविक शक्ति भएको पाइए पछि पाउ पाथीभरा मन्दिर स्थापना गरिएको धामका परिकल्पनाकार हरिचरण बानियाँ बताउँछन् । उक्त स्थानमा पाथीभरा माताको पाउ पर्न गएको हुँदा पाउ पाथीभरा मन्दिर निर्माण गरिएको बताइएको छ ।

त्यस्तै सोही स्थलको केही उत्तर पूर्वतर्फ उत्तरबाट दक्षिणतिर बगेको एक नदी अलौकिक तवरले पुनः उत्तरतर्फ नै बग्न पुगेको हुँदा सो स्थान धार्मिक स्थलका रुपमा महत्वपूर्ण बनेको हो । उत्तरतर्फ बग्ने नदीमा स्नान गर्नाले रोग, व्याध, पाप नाश हुने र कर्म प्राप्ति, वचन शुद्धता हुने मान्यता लिने गरिन्छ ।

सम्बन्धित खबर