भद्रपुर । भद्रपुर मारवाडी संघको अध्यक्षमा अजय साहेवाला सर्वसम्मत चयन भएका छन् । साहेवालाको दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।
भद्रपुर ६ स्थित संघको कार्यालय परिसरमा यसवर्षको होली पर्वको सन्दर्भमा शनिबार साँझ आयोजना गरिएको होली मिलन समारोहको अवसर पारेर संघको नयाँ कार्यसमिति चयन गरिएको हो ।
मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालको प्रमुख आतिथ्यमा आयोजित समारोहले सर्वसम्मत चयन गरेको कार्यसमितिको उपाध्यक्षमा विनय गोयल, सचिवमा मुकेश मित्रुका, सहसचिवमा गोपाल साहेवाला र कोषाध्यक्षमा दिलीप वंशल रहेका छन् ।
पुष्कर अग्रवाल, भाष्कर शर्मा, निर्मलकुमार अग्रवाल, दिवाकर शर्मा, सन्दीप अग्रवाल, जितेन्द्र शर्मा, अविनाश नाहाटा, महावीर मित्रुका र मोहित शर्मा सदस्य रहेका छन् । यस्तै महेश मित्तल निवर्तमान अध्यक्षको रुपमा कार्यसमितिमा रहने नवनिर्वाचित अध्यक्ष साहेवालाले जानकारी दिए ।
भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा सञ्च, भद्रपुर मारवाडी महिला मञ्च तथा भद्रपुर मारवाडी युवती मञ्चले संयुक्तरुपमा आयोजना गरेको समारोहका बीच होलीसँग सम्बन्धित विविध सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु रहेका थिए । सो कार्यक्रममा मारवाडी समुदायबाट शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कुत गरिएको थियो ।
उनीहरुलाई समारोहका प्रमुख अतिथि अग्रवाल, विशिष्ट अतिथि संघका पूर्व अध्यक्ष सत्यनारायण तायल लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन भाष्कर शर्मा र निलम गोयलले संयुक्त रुपमा गरेका थिए ।