२०८१ पौष २५, बिहिवार , ०१:५०:२८ बजे

Sajhamanch
'

दुई वर्ष निलम्बनको सूचना पाए लगत्तै उपसचिव श्रेष्ठले त्यागिन् एमाले

शुक्रवार, फागुन १९, २०७९

भद्रपुर । नेकपा एमालेले दुई वर्षका लागि आफूलाई निलम्बन गरेको जानकारी पाएकी झापा जिल्ला कमिटीका उपसचिव चन्द्रमाया श्रेष्ठले केही मानिसहरु समेतको नाम सार्वजनिक गर्दै सामुहिक पार्टी परित्यागको घोषणा गरेकी छन् ।

एकवर्ष भित्र सम्पन्न गरिएका स्थानीय तह चुनाव र प्रतिनिधि सभा प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारको विपक्षमा कार्यकर्तालाई मतदान गर्न प्रेरित गरेको यथेष्ट प्रमाणका आधारमा एमाले झापाले श्रेष्ठलाई निलम्बन गरेपछि उनले पार्टी नै परित्याग गरेको घोषणा गरेकी हुन् ।

पार्टी भित्रैबाट पार्टीलाई हराउनेजस्तो जघन्य अपराध गरेपछि पार्टीको सबै वडाले श्रेष्ठ लगायत पार्टीलाई अन्तरघात गर्ने, विपक्षी पार्टीसँग बैठक बसी बुथसम्म समानान्तर कमिटी बनाई एमालेलाई हराउन लाग्ने नेता तथा कार्यकर्तालाई कार्वाहीको माग गरेको थियो । सोही सिफारिस समेतको आधारमा एमाले झापाले सामान्य कार्वाही स्वरुप उपसचिव श्रेष्ठलाई दुई वर्ष निलम्बन गरेको थियो ।

आज दिउँसो चन्द्रगढीमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी विरुद्ध १८ बुँदे आरोप लगाउँदै झापामा एमाले छोड्ने लहर चल्नेसमेत दावी गरिन् । उनी भद्रपुर नगरपालिकाको निवर्तमान उपप्रमुख हुन् । नगरप्रमुख हुने दाउ नमिले पछि उनले विपक्षी पार्टीका उम्मेदवारलाई सहयोग गरेको यथेष्ट प्रमाण पार्टी समक्ष प्राप्त भएको थियो ।

यतिमात्र होइन, गत मंसीरमा भएको संघ तथा प्रदेशको चुनावमा पनि उनले राप्रपासँग एमालेले तालमेल गरेर कार्यकर्तालाई दास बनाएको भनी आलोचना गरेकी थिइन् ।

सम्बन्धित खबर