बिर्तामोड । बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ ।
महोत्सवमा सहभागीमध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव अवलोकनका लागि आएकी बिर्तामोड ५ निवासी अजिशा लिम्बूले घरेलु मदिरा (लोकल वाइन र रक्सी) तथा हस्तकलाका सामग्री बढी मन परेको बताइन् ।
महोत्सवस्थलमा भेटिएकी अजिशाले भनिन्– थारु समुदायको मौलिक खानाका परिकार, विभिन्न जात जातिका सांस्कृतिक कार्यक्रम महोत्सवको आकर्षण लाग्यो । यसले हाम्रो संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन दुवै हुनेमा म विश्वस्त छु । अझ महिला दिदी बहिनीहरुले सेल रोटी बनाएर बिक्री गरेको देख्दा र खाँदा बेग्लै आनन्द लाग्यो ।
एक रुपैयाँको चिया खाएर १८० रुपैयाँको चियाको प्याकेट खरिद गरेकी बिर्तामोड ५ निवासी गंगा लुईटेल चियाको प्रशंसक नै बनेकी छन् । मलाई घरमा आवश्यक पर्ने चिया आफन्तबाटै आउँछ तर प्रोत्साहनका लागि भएपनि यहाँ बिक्रीका लागि राखिएको दुई प्याकेट चिया खरिद गरेकी छु लुईटेलले भनिन् ।
महोत्सवमा सहभागी बुद्धशान्ति गाउँपालिका निवासी खगेन्द्र मैनालीले व्यवसायमा महोत्सवले आशा र उर्जा दुवै थपेको बताउँछन् । महोत्सवमा ब्यापार कति भयो भनेर हिसाब गर्नेभन्दा पनि हामीसँग पछिसम्म हुने गरी कति सेवाग्राही जोडिए भन्ने कुरा महत्वपूर्ण हुन्छ उनको भनाई छ ।
उनले थपे– सेवाग्राही जोडिनु व्यवसायीका लागि ठूलो सम्पत्ति हो । यहाँ पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्मका व्यापारी व्यवसायी उपभोक्तासँग जोडिएका छन् । यो आफैंमा खुशीको कुरा हो ।
महोत्सवमा सहभागी यी प्रतिनिधि पात्रमात्र हुन् । उनीहरु जस्ता धेरैले महोत्सवको प्रशंसा गरेका छन् । महोत्सवमा बालबालिकादेखि वृद्धवृद्धा समेतको उल्लेख्य सहभागिता हुने गरेको छ ।