कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ८ स्थित लक्ष्मीपुरको माउन्ट अन्नपूर्ण एजुकेसन फाउन्डेसनले प्रथम स्काउट दिक्षान्त समारोह सम्पन्न गरेको छ । स्काउट दिक्षान्त समारोहको उद्घाटन नेपाल स्काउटका सहायक राष्ट्रिय परिक्षक राजिव खत्रीले गरेका थिए ।
बुधबार विश्व स्काउट दिवसको अवसर पारेर विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै प्रथम स्काउट दिक्षान्त समारोहमा विद्यालयका ३२ जना विद्यार्थीलाई दिक्षित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल स्काउटका सहायक राष्ट्रिय परिक्षक खत्रीले घर र शिक्षालाई जोड्ने काम स्काउटले गर्ने गरेको बताएका छन् । उनले स्काउटले मानिसलाई अनुशासनमा बाध्नुका साथै मानवता, असल शिक्षा र संस्कार सिकाउने गरिरहेको बताए ।
कार्यक्रममा विद्यार्थीले स्काउट गीत गाउनुका साथै नृत्यसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि खत्री, विद्यालयका फाउण्डर प्रशान्त न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रिन्सिपल अजय भण्डारीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक दिमन्ता मिश्र र सञ्चालन शिक्षक रचना अधिकारीले गरेका थिए ।