२०८१ पौष २४, बुधवार , १०:३८:३० बजे

Sajhamanch
'

सिम्रिक साकोसः गरुवामा निःशुल्क स्वास्थ्य शिविर, ६९२ जनाले लिए सेवा

बिहिवार, फागुन ११, २०७९

इलाम (माई) । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर इलाम जिल्लालाई पनि कार्यक्षेत्र बनाएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा फागुन १० गते बुधबार यहाँ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग र स्थानीय समाजसेवी सूर्यप्रसाद रिमालको सहकार्यमा माई नगरपालिका वडा नं. २ स्थित गरुवा बहुमुखी क्याम्पसको प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, स्त्री तथा प्रसुती रोग, बालरोग, हाडजोर्नी तथा नशा रोग, न्यूरो, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा एवम् दन्त परीक्षण गरिएको थियो । यस्तै, भिडियो एक्स–रे, इसीजी तथा ल्याब सम्बन्धी सम्पूर्ण परीक्षणसहितको शिविरमा ६९२ जना स्थानीय बासिन्दाले सेवा लिएका थिए । संस्थाका अध्यक्ष सुवास भट्टराइका अनुसार सेवाग्राहीहरुले स्वास्थ्य जाँच गराउनुका साथै आवश्यक पर्ने औषधीसमेत निःशुल्क प्राप्त गरेका थिए ।

माई नगरपालिका वडा नं. २ का वडाध्यक्ष उर्दबहादुर राईको प्रमुख आतिथ्यमा नोबेल हस्पिटलका मार्केटिङ्ग अफिसर भगत साहको आतिथ्य तथा अन्य विषयगत डाक्टरहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरको आवश्यकता र महत्वका बारेमा प्रष्ट्याउँदै सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्राविधिक सहयोग प्रदान गने नोबेल शिक्षण अस्पताल, कोठाहरु उपलब्ध गराउने गरुवा बहुमुखी क्याम्पस परिवार, भवन उपलब्ध गराउने माई नगरपालिकाको रेडक्रस परिवार र बेडहरु उपलब्ध गराउने माई नगरपालिकाको स्वास्थ्य शाखालाई धन्यवाद दिए ।

कार्यकारी प्रमुख बस्नेतले चालू आवमा आजको मितिसम्म संस्थाले औषधी उपचार खर्चको आधारमा ५७१ जना शेयर सदस्यलाई ७१ लाखभन्दा बढी राहत रकम उपलब्ध गराइसकेको र आगामी दिनहरुमा समेत संस्थाले यस किसिमको सामाजिक कार्यलाई निरन्तरता दिँदै सदस्यहरुलाई प्रत्यक्ष रुपले सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

संस्थाका विभागीय प्रमुख प्रेम बस्नेतले संचालन गरेको औपचारिक कार्यक्रममा क्यान्सर रोगको उपचार गराइरहेका दानाबारी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्य तिलक अधिकारीलाई संस्थाले उपचार सुविधा वापत नगद ४५ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।

सम्बन्धित खबर