२०८१ माघ १२, शनिवार , ०२:१३:२९ बजे

Sajhamanch
'

बिर्तामोडमा हात्तीपाइले विरुद्धको आम औषधी सेवन सुरु

बुधवार, फागुन १०, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम आज शुभारम्भ गरिएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर नगरस्तरीय औषधी सेवन कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।

कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि औषधी सेवन गरेका थिए ।

‘बिर्तामोड नगरपालिकाको आव्हान, हात्तीपाइले रोगमुक्त नगर हाम्रो अभियान’ भन्ने नाराका साथ फागुन ११ देखि १७ गतेसम्म नगरका सबै वडाहरुमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको हो ।

औषधी सेवन शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले हात्तीपाइले रोग विरुद्धको औषधी अनिवार्य सेवन गर्न नगरबासीलाई आग्रह गरेकी छन् । यसअघिका वर्षहरुमा औषधीको बारेमा गलत हल्ला भएका कारण धेरै सर्वसाधारणले औषधी सेवन नगरेको भन्दै नगरप्रमुख प्रसाईंले त्यस प्रकारको भ्रममा नपर्न आग्रह पनि गरेकी छन् ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र औषधी सेवन कार्यक्रमका लागि १५० जनाभन्दा बढी तालिम प्राप्त स्वास्थ्यकर्मीहरु खटिएको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए । पहिलो चरणमा प्रत्येक वडामा रहेका विद्यालय र त्यसपछि गाउँ टोलहरुमा पुगेर स्वास्थ्यकर्मीको टोलीले औषधी खुवाउने कार्यक्रम बनाइएको बिष्टले बताए । नगरपालिकाले औषधी सेवन कार्यक्रमका बारेमा विभिन्न प्रचार प्रसार तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको समेत व्यवस्था गरेको थियो ।

हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्ने गर्दछ । सरकारले यस रोगको जोखिम भएका झापा लगायतका जिल्लाहरुमा राष्ट्रिय आम औषधी सेवन कार्यक्रम संचालन गरेको हो ।

२ वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि नियमित औषधी सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्न नहुने स्वास्थ्य शाखा प्रमुख बिष्टको भनाई छ ।

सम्बन्धित खबर