२०८१ माघ १२, शनिवार , ०८:४२:५७ बजे

Sajhamanch
'

प्रतिष्ठानद्वारा सीके प्रसाईको २९औं स्मृती दिवस मनाईयो

मङ्गलवार, फागुन ९, २०७९

झापा । नेपाली राजनीतिका समाजवादी चिन्तक एवम नेपाली काँग्रेसका नेता सीके प्रसाईको २९औं स्मृती दिवस एक कार्यक्रमका बीच मनाइएको छ ।

अर्जुनधारा ६ स्थित सीके चिन्तन प्रतिष्ठानको सभाहलमा फागुन८ गते प्रतिष्ठानका अध्यक्ष टीका प्रसाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । वि.स. १९८८ साल फागुन ७ गते सर्लाहीको पडरियामा जन्मिएका प्रसाईको निधन २०५० साल फागुन ८ गते झापा बिर्तामोडमा भएको थियो ।

नेपाली समाज र राजनीतिमा स्वर्गीय प्रसाईको योगदान बारे अध्यक्ष प्रसाईं र सदस्य खगेन्द्र नेम्बाङ्लगायतले चर्चा गरेका थिए । नेपाली काँग्रेस आवद्द नेता भएकाले २०१७ देखि २०२६ सम्म भारतमा निर्वासित जीवन बिताएका स्वर्गीय प्रसाईं नेपाल आएपछि पनि २०२७ सालदेखि २०३३ सम्म जेल जीवन र नजरबन्दमा परेका थिए ।

स्वर्गीय प्रसाईं नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा झापाका पार्टी सभापति भएर नेपाली राजनितिमा क्रियाशील रहेका थिए । लेखन कला र बौद्दिकतामा एसिया मै नाम कहलिएका स्वर्गीय प्रसाईका प्रकाशित कृतिहरुमा आजको सरल राजनीति, ब्यवहारिक राजनीतिको प्रारम्भिक रुपरेखा, मन जे मान्यो सत्य, कम्युनिष्ट मेनिफेस्टोः समाजवादको आधारशिला हुन् । विभिन्न पत्र पत्रिकाहरुमा उनका स्तम्भ तथा फुटकर रचनाहरु प्रकाशन भएका थिए । लेखक एवम् साहित्यकार कृष्ण धरावासीद्वारा सम्पादित सीके प्रसाईका विचारहरु र आजको सरल राजनिती पुनः प्रकाशित भएका छन् ।

निकट भविष्यमा हुन लागेको सीके चिन्तन प्रतिष्ठानको वार्षिक साधारण सभा तथा अधिवेशनको बेला स्वर्गीय प्रसाईको योगदान बारे एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम गरिने प्रतिष्ठानका महासचिव लक्ष्मी आचार्यले बताएका छन् ।

प्रतिष्ठनाका अध्यक्ष टीका प्रसाईको अध्यक्षतामा सम्पन्न स्मृति सभाको संचालन प्रतिष्ठानका सदस्य वीरु दर्नालले गरेका थिए ।

सम्बन्धित खबर