२०८१ कार्तिक २३, शुक्रवार , ०७:१०:४८ बजे

Sajhamanch
'

लघुवित्तमा आवद्ध महिला उद्यमी बनेर अरुलाई रोजगारी दिँदैछन्

सोमवार, फागुन ८, २०७९

झापा । करिब चार दशक अघिबाट सुरु भएको लघुवित्त कार्यक्रमले संस्थागत रुपमा काम गर्न थालेको पनि तीन दशक बितिसकेको छ । गरीब वर्ग पनि ऋण लगानी गर्न योग्य हुन्छन् भन्ने मान्यता लिएर सुरु भएका लघुवित्त संस्थाको संख्यामात्रै ६४ वटा छन् । देशभरका सयौं सहकारी संस्थाहरु मार्फत पनि लघुवित्त कार्यक्रम सञ्चालन गरेर सदस्यको घरदैलो बचत, कर्जा लगानी, बीमा लगायतका सेवा प्रवाह भइरहेका छन् ।

तथ्याङ्क अनुसार लघुवित्त संस्थाले नेपालका ७७ वटै जिल्लाका कुना कन्दरामा पुगेर भूमिहिन, सुकुम्बासी, विपन्न वर्गलाई घरघरमै पुगेर सेवा प्रदान गरिरहेका छन् । नेपालको विद्यमान कानून र नीति नियमको परिधीभित्रै रहेर स्थानीय सरकारको समेत स्वीकृति लिएर विपन्न वर्गलाई स्वरोजगार बनाई उनीहरुको जीवनस्तर माथि उकास्न लघुवित्त संस्थाहरु क्रियाशील भएको पाइन्छ । तर लघुवित्त वित्तीय संस्थाहरु विरुद्ध केही समय अघिदेखि चारैतिरबाट प्रहार भइरहेको छ । के लघुवित्त कारोबार साँच्चै बेठिक हो ? यसले समुदायको हित गरिरहेको छ कि बेफाइदा ? केही प्रतिनिधि आवाजहरु पढौं ।

नेरुडे लघुवित्त वित्तीय सस्थाकी सदस्य दुर्गादेवी ढकाल लघुवित्त संस्थाकै कारण आज आफ्नो आर्थिक अवस्था सुधार भएको बताउँछिन् । उनी भन्छिन्, ‘मेरो परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । सानो चिया पसल सञ्चालन गरेर परिवार पाल्र्ने गर्थें । त्यसैलाई हेरर नेरुडे लघुवित्त वित्तीय संस्थाले मलाई सुरुमा ३ हजार रुपैयाँ कर्जा दिएको थियो । त्यसैबाट ब्यापार विस्तार गर्दै आज यो अवस्थामा आइपुगेकी छु । अहिले मेरो आर्थिक अवस्था राम्रो छ । छोराछोरीलाई पनि राम्रो स्कूलमा पढाउँदैछु ।’

साहारा नेपालमा आवद्ध सदस्य रञ्जु पौडेलको बुझाईमा लघुवित्त संस्थाहरुले सदस्यलाई कर्जा लगानी र असुली मात्र गरेको छैनन्, सदस्यलाई विभिन्न प्रकारका ज्ञान र सिपमुलक तालिमसमेत दिएर आत्मनिर्भर पनि बनाएका छन् । जसका कारण आज संस्थामा आवद्ध सदस्यको जीवनस्तरमा पनि ठूलो परिवर्तन आएको छ । ‘आफू पनि लघुवित्तमा आवद्ध भएकै कारण ठूलो आर्थिक प्रगति गर्न सफल भएकी हुँ’ पौडेलले प्रष्ट पारेकी छन् ।

यसैगरी, कर्णाली बचत तथा ऋण सहकारी संस्थाको लघुवित्त तर्फकी सदस्य कैकेई बस्नेत चाहिँ लघुवित्तमा आवद्ध भएका धेरै निरक्षर महिलाहरु साक्षर भएको र आफ्नो नाम लेख्न सक्ने भएको बताउँछिन् । ‘सुरुसुरुमा लघुवित्त संस्थाबाट कर्जा लिन निकै गाह्रो थियो । लेख्न पढ्न सिकाएर र कर्जाको सदुपयोगिता बुझाएर मात्र ऋण दिने चलन थियो’ बस्नेत भन्छिन् ‘२०६१ सालमा लघुवित्तबाट ५ हजार रुपैयाँ कर्जा लिएर व्यापार सुरु गरेकी हुँ । गाउँघरमा कसैले नपत्याउनेलाई पनि लघुवित्त संस्थाले पत्याएर विना धितो कर्जा दिएको थियो ।’

पछिल्लो समय लघुवित्त संस्थाको संख्यामा वृद्धि हुँदै गएकोले कर्जा लिन सहज बन्दै आएको बताउँदै बस्नेत भन्छिन्, ‘लघुवित्तमा आवद्ध भएकै कारण आज म र मजस्ता धेरै महिलाले प्रगति गरेका छौ । ब्यापार ब्यवसाय गरेर अरुलाई पनि रोजगारी दिइरहेका छौं ।’

सुरुमा आर्थिक अवस्था कमजोर रहेको बताउने पवित्रा महतो लघुवित्त संस्थाबाट पाएको सानो कर्जा रकमका कारण आज ठूलो प्रगति गरेको विश्वास गर्छिन् । जीवन विकास लघुवित्त संस्थाकी सदस्य महतो भन्छिन्, ‘गाउँमै उद्यमी बनेकी छु । बेरोजगारहरुलाई स्थानीय क्षेत्रमा नै रोजगारी दिनसक्ने भएकी छु । यो सबै लघुवित्त संस्थाकै देन हो । हामीलाई सारोगाह्रो परेको बेला सहयोग गर्ने भनेकै लघुवित्त संस्था नै भएको छ ।’

यी त केही प्रतिनिधि आवाज मात्र हुन् । लघुवित्त संस्थाले यस्ता थुप्रै महिलाहरुको जीवनमा आर्थिक परिवर्तन ल्याइदिएको छ । हिजो हुँदा खानेहरुलाई आज हुने खाने बनाउने नै लघुवित्त संस्था बनेका छन् । तर पछिल्लो समय केही संस्थाका सञ्चालक र कर्मचारीका कारण लघुवित्त संस्थाप्रति टिकाटिप्पणी पनि आइरहेका छन् । लघुवित्त संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट निर्धारित नीति नियमको पालन गरेरै ग्राहक सदस्यहरुलाई घरदैलोमा पुगेर सेवा दिइरहेका हुन्छन् ।

पछिल्लो समय लघुवित्तको कर्जा मिनाहा हुन्छ भन्नेजस्ता भ्रामक, तथ्यहिन र गलत प्रचार भइरहेका कारण लघुवित्त संस्थाहरुमा समस्या सिर्जना हुन थालेको छ । लघुवित्त संस्थाले लगानी गरेको कर्जा मिनाहा हुनु भनेको संस्थाले क, ख, ग र घ वर्गका थोककर्जा प्रदायक बैंक तथा वित्तीय सस्था लिएको कर्जा २ खर्ब ३५ अर्ब ३५ करोड २ लाख २३ हजार ८८० रुपैयाँ डुब्नु हो । यसरी नै लघुवित्त संस्थाले ५९ लाख ३६ हजार ९५ जना आफ्ना सदस्यहरुबाट बचत गरेको निक्षेप रकम १ खर्ब ६४ अर्ब १९ करोड ६० लाख ६५ हजार ६०० रुपैयाँ ती सदस्यले पनि भुक्तानी पाउन नसक्ने अवस्था सिर्जना हुनु हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९ साल आश्विन मसान्तसम्म लघुवित्त संस्थाहरुले मात्र ५ हजार ६८ वटा शाखा मार्फत २३ हजार ३७४ जना कर्मचारी परिचालन गरी ५९ लाख ३६ हजार ९५ जना सदस्यलाई सेवा पुर्याएका छन् । तीमध्ये ३३ लाख १० हजार ९५८ जना सदस्यहरुलाई कर्जा उपलब्ध गराई वित्तीय सेवा दिएका छन् । राष्ट्र बैंकको तथ्याङ्कले भन्छ– लघुवित्त संस्थाले हालसम्म ४ खर्ब ५७ अर्ब १८ करोड ६३ लाख ३६ हजार १८० रुपैयाँ कर्जा लगानी गरेका छन् भने १ खर्ब ६४ अर्ब १९ करोड ६० लाख ६५ हजार ६०० रुपैयाँ बचत परिचालन गरिरहेको छन् ।

वित्तीय क्षेत्रमा यति ठूलो योगदान गरिरहेको लघुवित्त वित्तीय संस्थाहरु माथि आज चारैतिरबाट प्राहार भइरहेको छ । के साँच्चि कै लघुवित्तले राष्ट्र बैंकको नीति नियम विरुद्ध काम गरेर सदस्यलाई ठगी गरिरहेकै छन् त ? यो साँच्चै अनुसन्धानको विषय बन्न सक्छ । तर लघुवित्तमा सदस्य बनेका कतिपय सदस्यहरुको हिजो घर थिएन, आज आफ्नै घर बनाएका छन् । हिजो हुँदामात्र खानेहरु आज हुनेखाने भएका छन् । हिजो आफूलाई समस्या पर्दा दुई चार सय सापटी माग्दा नदिनेहरु आज तिनै सदस्यसँग चालिस पचास हजार सापटी माग्न आउँछन् ! के यो लघुवित्तले वित्तीय क्षेत्रमा गरेको परिवर्तन होइन र ? हो हो रेमा कुद्नुको साटो यथार्थ धरातल खोज्ने पो हो कि !

सम्बन्धित खबर