२०८१ पौष २६, शुक्रवार , ०७:२१:४१ बजे

Sajhamanch
'

सभामुख घिमिरे र उपसभामुख रानालाई बिर्तामोडमा सम्मान

बिहिवार, फागुन ४, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाको संयोजनमा आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बिर्तामोडमा दर्जनौं व्यक्ति तथा संस्थाहरुद्वारा सम्मान अभिनन्दन गरिएको छ ।

नगरपालिका कार्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहका बीच सभामुख घिमिरे र उपसभामुख मगरलाई सम्मान गरिएको हो ।

नगरपालिकाका तर्फबाट नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले सभामुख घिमिरे र उपसभामुख मगरलाई दोसल्ला ओढाएर प्रंशसा पत्रसहित सम्मान गरेका हुन् ।

सभामुख र उपसभामुख दुवैजना झापा क्षेत्र नम्बर २ का बासिन्दा हुन् । सभामुख घिमिरे निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् भने उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित समानुपातिक सांसद हुन् ।

सम्मान ग्रहणपछि सम्बोधन गर्दै सभामुख घिमिरेले भने, ‘जनताको अभिमतको कदर गर्दै क्षेत्रको विकासका लागि अथक प्रयास गर्नेछु भन्ने बाचा लिएर संसद छिरेको मान्छेलाई राजनीतिक दलहरुको झगडा मिलाउने ठाउँमा पुर्याउनु भयो, यही थप जिम्मेवारीका लागि तपाईंहरुबाट प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दछु ।

अर्का सम्मानित उपसभामुख राना मगरले पनि सभामुखसँग मिलेर काम गर्ने तथा झापाको विकासका लागि उल्लेखनीय योगदान गर्ने विश्वास दिलाइन् ।

सम्मान समारोहमा तत्कालीन संविधान सभाका सदस्य सुधिरकुमार शिवाकोटी र प्रदेश सांसद एकराज कार्कीले समसामयिक राजनीतिक विषयहरु उठान गर्दै सभामुख र उपसभामुख एउटै निर्वाचन क्षेत्रले पाउनु झापाका लागि गौरवको विषय भएको जनाए ।

नगरप्रमुख प्रसाईको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा आमन्त्रितहरुलाई उपप्रमुख सङग्रौलाले शाब्दिक स्वागत गर्दै नगरबासीका तर्फबाट नागरिक अभिनन्दन गर्न पाउँदा खुसी लागेको बताए । उनले यस क्षेत्रका जनताको विकास प्रतिको अपेक्षा पूरा हुने विश्वास पनि व्यक्त गरेका थिए ।

सम्बन्धित खबर