२०८१ असोज ३, बिहिवार , ०८:५६:४७ बजे

Sajhamanch
'

विराटनगर विमानस्थलको आन्तरिक टर्मिनल भवनको शिलान्यास

सोमवार, फागुन १, २०७९

विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । २ अर्ब ४२ करोड रुपैयाँ लागतमा बन्ने १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका छन्।

टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो बन्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ । गौतमवुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरको छ ।

विमानस्थलको दीर्घकालीन विकासका लागि देशकै ठूलो टर्मिनल भवन निर्माण गर्न लागिएको उनले बताए । विमानस्थलको धावन मार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो ।

तर बजेट अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा भयो । विमानस्थल विस्तारको योजना तत्काल अघि नबढेपनि टर्मिनल भवन भने निर्माण गर्न लागिएको हो ।

तीन वर्षभित्र टर्मिनल भवन निर्माण सक्ने ठेक्का केसी डाफे जेभीले लिएको छ । यसअघि २०२५ सालमा विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो । पुरानो टर्मिनल भवन भएको स्थानमा भने पार्किङ स्थल बनाउने तयारी छ ।

मन्त्री किरातीले विमानस्थलको टर्मिनल भवन प्रदेश १ को विकासमा कोशेढुङ्गा सावित हुने बताए । उनले ठेकेदारलाई समयमा नै काम सम्पन्न गर्न निर्देशन दिए ।

धावन मार्ग पनि थप्ने तयारी

विराटनगर विमानस्थलको धावन मार्ग पनि विस्तार गरिने भएको छ । महानिर्देशक अधिकारीका अनुसार धावन मार्ग २७० मिटर विस्तार गरिने छ ।

विमानस्थलको धावन मार्ग एक हजार ५०० मिटर छ । ठूला जहाजलाई सहज रुपमा उडान अवतरणका लागि धावन मार्ग थप गर्न लागिएको महानिर्देशक अधिकारीले बताए ।

अनलाइनखबरबाट

सम्बन्धित खबर