मेचीनगर । झापाको मेचीनगर नगरपालिका नगर कार्यापालिकाको दोस्रो नगरसभाको दोस्रो वैठक सम्पन्न भएको छ । आइतबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित नगरसभाको दोस्रो वैठकको उद्घाटन झापा क्षेत्र नं.१ (१) का प्रदेश सांसद गोपाल तामाङले गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तामाङले बैठकको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै स्थानीय सरकार भएका कारण मेची नगरपालिकाको आम नागरिकप्रतिको दायित्व धेरै भएको बताएका छन् । उनले जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार भएका कारण यस संस्थाप्रति आम नागरिकको आशा र भरोसा धेरै छ । त्यसलाई साकार पार्न स्थानीय सरकार लागि पर्नुपर्ने बताए ।
कार्यक्रममा झापा क्षेत्र नं. १ (२) का प्रदेश सांसद सबिना बजगाईले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएका कारण जनताको माग बढीभन्दा बढी पूरा गर्नुपर्ने बताइन् । उनले मेचीनगरले जनताको पक्षमा धेरै नै राम्रा राम्रा कामहरु अगाडि बढाएको बताउँदै ती राम्रा काम सफल पार्न प्रदेश सांसदको हैसियतले आफूले सकेको सहयोग गर्ने बताइन् ।
कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जनताको काम गर्नका लागि जनता कै म्याण्डेट लिएर स्थानीय सरकारको नेतृत्य सम्हाल्न आएको बताउँदै आफ्नो कार्यकालमा जनताले प्रत्यक्ष महसुस गर्ने खालका कार्य गर्ने बताए । उनले आफ्नो नेतृत्वमा स्थानीय सरकार सञ्चालनको करिब ९ महिना जति मात्रै भएकाले केही काम सम्पन्न भए, केही सञ्चालन हुँने क्रममा छन् भने केही काम अगाडि बढ्ने प्रक्रियामा रहेको बताए ।
पहिलो वर्ष भएकाले केही प्राविधिक समस्या, देशमा संघ र प्रदेशको निर्वाचन लगायतले काम गर्न केही सुस्त भएको बताउँदै उनले भने अब निरन्तर जनताको काम द्रुत गतिमा गरिनेछ ।
नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले सो कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । उनीहरुले नगरको विकास र समृद्धिमा राजनैतिक दलले सधै रचनात्मक सहयोग गर्ने बताए ।
मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपलिकाको विगतको समीक्षा र भावी नीति तथा कर्यक्रम योजना प्रस्तुत गरेको कार्यक्रममा नगरका १५ वटै वडाका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
बैठकको अध्यक्षता नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए भने उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वागत मन्तब्य र कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।
बैठकको खुल्ला शत्रपश्चात आयोजना भएको बन्दशत्रमा नगरपालिकाको विगतमा गरेका कामको समीक्षा र भावी नीति कर्यक्रम योजनासहित महतपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको नगर कार्यापालिकाले जनाएको छ ।