२०८१ पौष २७, शनिवार , ०१:४७:३६ बजे

Sajhamanch
'

भद्रपुरमा चोरीका घटनामा वृद्धि तर प्रहरीमा उजुरी परे पनि चोर पक्रिएन

शनिवार, माघ २८, २०७९

भद्रपुर । झापाको सदरमुकाम भद्रपुर क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढिरहेका भए पनि प्रहरीले चोर पक्रन नसक्दा असुरक्षा चुलिँदै गएको छ ।

असोज महिना यता मात्र भद्रपुरमा दर्जन बढी चोरीका घटना भएको उजुरीसमेत पाएको झापा प्रहरीले चोर भने एकजना पनि नियन्त्रणमा लिन नसक्दा आम नागरिकमा असुरक्षा बढेको हो ।

घरमा कोही नभएको मौका छोपी दिउँसै समेत घर फोर्ने गिरोहले दर्जन बढी घरबाट नगद, गरगहना, भाँडाकुडासमेत चोरिरहेका घटना बढ्दो अवस्थामा देखिन्छन् ।

चरनमा रहेका खसीबोका, कुखुरा चोर्ने चोरको पनि बिगबिगी बढ्दो छ । चोरिएका सामग्रीसहित चोर फेला परेको एउटा पनि घटना नदेखिनुले चोरको मनोबल बढ्न पुगेको पीडितहरुको दुखेसो छ ।

मोबाइल, ल्याप्टप, साइकल, मोटरसाइकल, पानी तान्ने पम्प, कलधारा चोरी गर्ने पनि उत्तिकै सकृय देखिए पनि प्रहरीले समातेर कानुननको दायरामा ल्याउन सकेको छैन ।

यता झापा प्रहरी दुले चोरको खोजी तीव्र गतिमा गरिरहेको बताउँछ तर चोर पीडितले हराएका सामग्री पाउन नसक्दा न्यायको अनुभूत गर्न पाएका छैनन् ।

भद्रपुर ९ का पूर्व वडासदस्य नुनत पौडेल पनि दुले चोर पीडित व्यक्ति हुन् । उनको घरबाट केही महिना अगाडि लाखौंका गरगहनासहित चाँदी र पित्तलका भाडाँकुडा दिउँसै चोरिएका थिए ।

घरमा कोही नभएको मौका छोपेर चोरले दिउँसै घर फुटाएर चोरेको थियो । घटना भएको केही बेरमै जानकारी पाएर प्रहरीलाई चोर पत्ता लगाउन निवेदन दिए पनि चोर समातिएको छैन । तर त्यसयता उनको वडामा मात्र दर्जनबढी चोरीका घटना भएका छन् ।

कुनै पनि चोरीका घटनामा संलग्न चोर प्रहरीले पक्रन नसकेका कारण स्थानीयमा घरको सुरक्षाको त्रास बढिरहेको पौडेलको गुनासो छ ।

सम्बन्धित खबर