२०८१ कार्तिक २, शुक्रवार , ०६:४४:४१ बजे

Sajhamanch
'

सामाजिक सञ्जालले नकारात्मक भावना बढाउँदै, लैङ्गिक हिंसा घरबाटै रोकिनुपर्ने

शनिवार, माघ २८, २०७९

बिर्तामोड । लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय सकरात्मक र सिर्जनात्मकभन्दा पनि नकरात्मक विषयप्रति मान्छेहरुको ध्यान धेरै गएको सुनाइन् ।

सामाजिक सञ्जाल प्रयोगमा यस प्रकारका कुराहरु बढिरहेको भन्दै नगरप्रमुख प्रसाईंले सकरात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिइन् । नगरप्रमुख प्रसाईले हिंसाका घटनामा महिला र पुरुष दुवैको संलग्नता रहने गरेको र यसको न्यूनीकरणको लागि आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने सुझाव दिइन् ।

सो कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकालाई हिंसा विरुद्वको नगरपालिकाको रुपमा स्थापित गर्नुपर्ने बताए । महिला र पुरुषबीचमा मात्र नभई महिला महिला बीच पनि हिंसा रहेको भन्दै एकले अर्कोलाई अपमान गरेर अघि बढ्न नसकिने उपप्रमुख संग्रौलाको धारणा थियो ।

अभिमुखीकरण कार्यक्रममा नारी सञ्चार गृह झापाका संस्थापक अध्यक्ष, त्रिदेव बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समितिका सभापति सावित्रा दाहाल भट्टराईले प्रशिक्षण गरेकी थिइन् ।

नगर उपप्रमुख संग्रौलाको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यक्रममा कार्यपालिका सदस्य यमुना आचार्य, सीता ढुंगाना विक, शर्मिला राजवंशी, संगीता सिवा, तिला गौतम, निर्मला गजमेर, लक्षिमा खतिवडा लगायत महिला जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका महिला प्रतिनिधि, कर्मचारीहरुको सहभागिता थियो ।

सम्बन्धित खबर