२०८१ माघ १२, शनिवार , ०४:४७:०४ बजे

Sajhamanch
'

आम्दा मेची अस्पताल प्रविधिमैत्री बनाइँदै, २२ लाख रुपैयाँभन्दा बढी मूल्यका उपकरण थपिए

शनिवार, माघ २८, २०७९

मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण थप गरिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो ।

गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, तत्कालिन संविधानसभा सदस्य रविन कोइराला, मेची उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष ॠषि तिम्सिनालगायतको टोली काठमाडौं गई आम्दा नेपालका प्रमुखहरुसँग भेटेर अस्पताल व्यवस्थित बनाउँदै मेचीनगर क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने बिषयमा छलफल गरेको थियो । त्यही छलफलबाट १५ शैयाको अस्पताललाई निकट भविष्यमा नै ५० शैयामा स्तरवृद्धि गर्ने लक्ष्य राखिएको थियो ।

सोही छलफल अनुसार अहिले अस्पतालमा नयाँ उपकरणहरु थप भइरहेका हुन् । थप भएका उपकरणहरुमा २० लाख मूल्य बराबरको युएसजी मेसिन र २ लाख बराबरको माइनर ओटीका सामाग्री र एएनसी चेकअपका लागि आवश्यक उपकरण रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रयोगशाला, इमेरजेन्सी सेवा, जेनेरल ओपिडी सेवा, इसिजी सेवा, डिजिटल एक्सरे सेवा भइरहेको छ । त्यसमा थप अब माइनर ओटी, एएनसी चेकअप लगायतका सेवाहरु पनि उपलब्ध हुनेछन् ।

अस्पतालमा प्राप्त उपकरण अवलोकन गर्दै नगर प्रमुख बुढाथोकीले मेचीनगर नगरपालिकाका नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न आफूहरु लागि परेको बताए । उनले स्थानीय क्षेत्रमा नै सर्वसुलभ रुपमा सुविधायुक्त स्वास्थ्य सेवा प्रवाह गर्न आम्दा मेची अस्पताललाई व्यवस्थित बनाउन लागि परेको बताए ।

तर अस्पतालको स्वामित्व कसले लिने भन्ने कुरामा केही प्राविधिक समस्या रहेका कारण मेचीनगरले सोचे अनुरुप अगाडी अझै बढ्न नसकिरहेको उनको भनाई छ ।

अस्पताल परिसरमा आज भएको भेलामा मेचीनगर प्रमुख बुढाथोकी, मेची उद्योग वाणिज्य संघ अध्यक्ष तथा आम्दा मेची अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष खेमराज प्रसाई, निवर्तमान मेची उद्योग वाणिज्य संघ अध्यक्ष तथा आम्दा मेची अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष ॠषि तिम्सिना, आम्दा नेपाल सचिव यज्ञराज पाठक, आम्दा मेचीका मेसु पोषणरमण त्रिपाठी, आम्दा अस्पताल दमक मेसु प्रकाश शर्मा, आम्दा अस्पताल दमक प्रशासक सुमनकुमार नेपाल, मेची उद्योग वाणिज्य संघका कार्याकारी निर्देशम गोपाल बस्नेत, आम्दा मेचीका वरिष्ठ सहायक किरण निरौला, सहायक प्रशासन तारा थापा, मेचीनगर प्रमुख बुढाथोकीका स्वकिय सचिव आशिष पौडेल लगायतको सहभागिता थियो ।

सम्बन्धित खबर