बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पूल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३१९ रुपैयाँको लागतमा पूल निमार्ण भएको हो ।
९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाई रहेको सो पूल निर्माणका लागि एनके कन्ट्रक्सनले ठेक्का लिएको थियो । पूलको निर्माण कार्य सम्पन्न भएको जानकारी पाए पछि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडानम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल, प्राविधिक कर्मचारीले अगुगमन गरेका छन् ।
वडाध्यक्ष खरेलले सो पूल निर्माण भएपछि स्थानीयलाई वारपारी गर्न सहज भएको बताए । उनले पूल नहुँदा सो क्षेत्रमा कटानको समेत समस्या रहेकोले वर्षौदेखि सास्ती खेप्दै आएका स्थानीयले राहत महसुस गरेको बताए ।
बिर्तामोड नगरपालिका क्षेत्रभित्र निर्माण भइरहेका विकास निर्माणका कार्यहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रत्यक्षरुपमा कडाईका साथ अनुगमन तथा निगरानी गर्दै आएको जनाइएको छ ।
ठेकेदारको ढिला सुस्तीका कारण निर्माण कार्यमा ढिलाई हुने हुँदा नगरले प्रत्यक्षरुपमा समयमै काम सम्पन्न गर्नका लागि खबरदारी गर्दै आएको हो ।