झापा । महेन्द्ररत्न मावि अनारमनीका निवृत्त शिक्षिका लीला निरौलाको ६७ वर्षको उमेरमा निधन भएको छ ।
महेन्द्र रत्नमा २०३६ देखि २०६२ सम्म र शहीद दशरथ चन्द मावि चारआलीमा २०६२ देखि अवकाशप्राप्त समयसम्म अध्यापन गराएकी शिक्षिका निरौलाको सोमबार साँझ बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
अत्यन्त सरल र मिलनसार लीला गुरुआमाको निधनको खबरले निकै दुःख लागेको महेन्द्र रत्न मावि भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए । मेचीनगर घर भएका स्वर्गीय निरौलाका तीन छोरीहरु पुनम शर्मा, प्रभा वंशीधर र प्रज्ञा घिमिरे रहेका छन् ।
उनका श्रीमान दामोदर भारद्वाजको धेरैवर्ष पहिले बनारसको एउटा दुर्घटनामा मृत्यु भएको थियो भने एक छोराको पनि अविवाहित अवस्थामा नै कोरोनाकालमा असामयिक निधन भएको जनाएको छ ।
स्वर्गीय लीला गुरुआमाको आजै दिउँसो धुलाबारीस्थित रामघाटमा अन्ति संस्कार गरिने शहीद दशरथ चन्द माविका प्रधानाध्यापक लेखनाथ पौडेलले जनाएका छन् ।