२०८१ असोज २, बुधवार , ०४:४५:२९ बजे

Sajhamanch
'

‘नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार दत्तचित्त भएर लागेको छ’ : स्वास्थ्य मन्त्री गिरी

सोमवार, माघ २३, २०७९

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौं विस्तारित भेला आज सोमबार सम्पन्न भएको छ ।

संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाका लागि जिज्ञासा–सुझाव संकलनका साथै केन्द्र र प्रदेशका दुई मन्त्रीलाई सम्मान गर्दै संस्थाको दशौं विस्तारित भेला सम्पन्न भएको हो ।

सहारा नेपाल साकोसले संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलालाई कार्यसफलताको शुभकामना दिँदै सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशी र प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले दुवै तहका मन्त्रीहरुलाई सम्मान–पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री गिरीले सहारा नेपाल साकोसको मुक्तकण्ठले प्रशंसा गरे । संस्थाले सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गरेको प्रति मन्त्री गिरीले संस्थालाई धन्यवाद समेत दिएका थिए ।

सहकारीले सदस्यको स्वास्थ्यको क्षेत्रमा गरेको काम उल्लेख्य रहेको भन्दै उनले आगामी दिनमा थप सफलताको कामना पनि गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गिरीले पालिका तहमा रहेका अस्पताललाई थप सुविधा सम्पन्न बनाउने बताएका थिए । मन्त्री गिरीले स्वास्थ्य संस्थालाई भरपर्दो बनाउन आफू लागिरहेको बताएका हुन् ।

मन्त्री गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउँदै प्रादेशिक तहमा पनि अस्पताल बनाइने बताए ।

‘सातवटै प्रदेशमा अत्याधुनिक अस्पताल बनाउने र नागरिकलाई बीमामार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीमा सरकार छ’ मन्त्री गिरीको भनाई छ ।

‘स्वास्थ्य बीमाको प्रभावकारिता माथि प्रश्न उठिरहेका बेला मन्त्री गिरीले यसलाई सुधार गर्दै जनमुखी बनाइने पनि बताए । स्वास्थ्य बीमाबाट उपचार गराउन घण्टौँ लाइनमा बसेर गुणस्तरहीन औषधि लिएर जानुपर्ने बाध्यता अन्त्य गरेर छोड्ने मन्त्री गिरीको दृढता छ ।

सो कार्यक्रममा प्रदेश १ का उद्योग, कषि तथा सहकारी मन्त्री सिटौलाले सहारा नेपाल साकोस मुलुककै अब्बल सहकारीका रुपमा स्थापित हुँदै गएको बताउँदै सिंहावलोकन गर्दै अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सहारा नेपाल साकोसको सहकार्यमा नगरमा धेरै राम्रा काम गरेको अवगत गराए । ज्येष्ठ नागरिक, शिक्षा र विपन्न आवास लगायतका क्षेत्रमा सहारा नेपालसँगको सहकार्यमा धेरै काम नगरपालिकाले गरेको नगरप्रमुख पोखरेलको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी महासंघका सल्लाहकार कमलप्रसाद चौलागाईं, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती लगायतले नेपालको वर्तमान सहकारीको अवस्था, अप्ठ्यारा, अवसर लगायतका बारेमा चर्चा गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् सदस्य सचिव महेन्द्रकुमार गिरीले आगामी १० वर्षे रणनीतिक योजनाका बारेमा छलफल गर्न र सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको बताए । आगामी १० वर्षमा सहारा नेपाललाई कस्तो बनाउने भन्ने सन्दर्भमा रणनीतिक योजना तर्जुमा गर्नुअघि सदस्यहरुबाट सुझाव संकलन गरेर विज्ञहरुसँग परामर्श गर्नका लागि विस्तारित बैठक गरिएको बताए ।

संस्थाले मिसन २०८८, सदस्य सुनौ, सदस्य बनौं अभियान, कोष तथा तरलता व्यवस्थापन, आन्तरिक स्रोत बृद्धिका लागि बचतमा प्राथमिकता, ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, उद्यमशीलता विकास र रोजगारी सिर्जना, सदस्यहरुको स्वास्थ्य सेवामा पहुँच लगायतका १७ वटा बुँदामा आफ्नो कार्यदिशा तय गरेको छ ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले शाब्दिक स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

सम्बन्धित खबर