२०८१ पौष २६, शुक्रवार , ०७:०८:१२ बजे

Sajhamanch
'

महेन्द्ररत्न माविका पूर्व विद्यार्थीहरुलाई सुविधै सुविधा

आइतवार, माघ २२, २०७९

बिर्तामोड । झापाको बिर्तामोड– ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविका भूतपूर्व विद्यार्थीहरुलाई अनेकौ सुविधा उपलब्ध हुने भएको छ ।

भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न मावि अनारमनीको आज बेलडाँगीमा आयोजित कार्यक्रममा सहभागीहरुले आ–आफ्नो तर्फबाट सकेको सुविधा उपलब्ध गराउने घोषणा गरेका हुन् । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न माविको सदस्यता लिएका पूर्व विद्यार्थीका आमाबुवा र पूर्व विद्यार्थीको श्रीमान् वा श्रीमती चार जनाको लागि हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर लक्ष्मी मैनालीसँग स्वास्थ्य जाँच गराउँदा उनले निःशुल्क सेवा दिने घोषणा गरेका छन् ।

त्यस्तै गोमेन्द्र मल्टिपल कलेजमा भूतपूर्व विद्यार्थी समाजको सिफारिसमा पूर्व विद्यार्थीको एक सन्तानलाई करिव ५ लाख रुपैयाँ खर्च हुने पूर्ण कोर्स निःशुल्क पढाइदिने कलेजका प्राचार्य डा. रुपक खनालले घोषणा गरे । त्यस्तै अनारमनी पव्लिक क्याम्पसले भूतपूर्व विद्यार्थी समाजको सिफारिसमा पूर्व विद्यार्थीको एक सन्तानलाई बिबिएस निःशुल्क पढाई दिने क्याम्पस प्रमुख मोहन सिवाकोटीले घोषणा गरे ।

त्यस्तै शिक्षक उदय कटुवालले भूतपूर्व विद्यार्थी समाजको सिफारिसमा गरामनी क्याम्पसमा एकजना विद्यार्थीको लाग्ने शुल्क आफूले व्यहोर्ने बताए । त्यस्तै इस्टर्न फिस फार्मको तर्फबाट पूर्व विद्यार्थीलाई घरायसी प्रयोजनका लागि माछाको मूल्यमा ५० प्रतिशत छुट दिइने भएको छ । सहयोग घोषणा गर्नेहरु सोही विद्यालयका पूर्व विद्यार्थीहरु हुन् ।
कार्यक्रममा भुतपूर्व विद्यार्थीहरु मनोज देवानले एक लाख, कमल बिमलीले एक लाख, कमल बुढाथोकीले पचास हजार, भागिरथा आचार्य घिमिरेले २० हजार रुपैयाँ अक्षय कोषको लागि सहयोग गर्ने घोषणा गरेका समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए ।

पोखरेलको संयोजन र व्यवस्थापनमा सो कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा वैधानिक रुपमा दर्ता भएको समाजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित खबर