२०८१ माघ १२, शनिवार , ०४:२३:०६ बजे

Sajhamanch
'

रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्यामा बृद्धि हुँदै

सोमवार, माघ १६, २०७९

दमक । रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्या दिनानु दिन बढिरहेको तथ्य सार्वजनिक भएको छ ।

दमक अस्पतालका डाक्टर गुरु पौडेलले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखिएको हो । उनका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा झापामा कुष्ठ रोगीको संख्या १२१ रहेकोमा चालू आर्थिक वर्षको बितेको ६ महिनामा नै ६ जना बालबालिकासहित १२० जना पुगिसकेको छ । रोग लुकाएर बसेका कारण कुष्ठरोगीहरुको संख्या अझ वृद्धि हुन सक्ने उनको भनाई छ ।

विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवश २०२३ का अवसरमा दमक अस्पतालमा आयोजित कार्यक्रममा उक्त तथ्य सार्वजनिक गरिएको हो । कुष्ठ रोगीहरुको संख्या प्रति १० हजारमा १ जनाभन्दा कम हुनुपर्ने नेपाल सरकारको लक्ष्य छ । तर पनि रोगीहरुले रोग लुकाएर उपचार नगरी बसेका कारण त्यो संख्या बढेको डाक्टर पौडेलको तर्क छ ।

सुरुसुरुमा वयस्क र वृद्धमा मात्र कुष्ठरोगको संक्रमण देखिने गरेता पनि पछिल्लो समय ५ वर्षदेखि १३ वर्षसम्मका बालबालिमामा रोग देखिनु भनेको भित्रभित्रै रोग तीब्ररुपमा आगोजस्तै फैलिरहेको छ भन्ने कुरा प्रमाणित भएको सो कार्यक्रमका सहभागी वक्ताहरुको धारणा थियो ।

कुष्ठरोग रोग परजीविका कारण मानिसमा लाग्ने गर्दछ । अशिक्षा र सरसफाइमा ध्यान नदिएका कारण यो मनिसमा सर्ने गर्दछ । रोग लागेको सुरु कै अवस्थामा उपचार सुरु गरेमा रोग सजिलै निको हुने तर ढिलो र नियमित औषधी प्रयोग नगर्ने हो भने अगभंगसमेत हुनसक्ने स्वास्थ्यकर्मीको भनाई छ ।

कुष्ठरोगीको उपचारमा तीनै तहको सरकारले सहयोग गरिरहेको स्मरण गराउँदै दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईले भनिन्, ‘यस विषयमा दमक नगरपालिका सचेत छ र कुष्ठ रोगीलाई सहयोग गर्न नगरपालिका जहिल्यै तयार छ ।’

कुष्ठ रोगका विरामीलाई नियमित रुपमा उपचार गर्न र औषधी सेवन गर्न सहज होस् भनेर दमक अस्पतालमा एकीकृत उपचार कक्षको स्थापना गरिएको छ । यहाँ उपचार सम्भव नभए सर्लाहीको लालगढ र ललितपुरको आनन्दवन अस्पतालमा निःशुल्क उपचारका लागि यातायात खर्चसहित पठाउने व्यवस्था गरिएको करुणा फाउण्डेसनका कार्यक्रम संयोजक अंकित पाठकले जकारी दिएका छन् ।

विश्वमा उपेक्षित उष्णप्रदेशीय रोग २० प्रकारका भए पनि नेपालमा कुष्ठरोग, हात्तीपाइले, डेंगु, लुतो, कालाजार, रेविज, सर्पदंश, जुका, फित्तेजुका र खस्रेरोग आदि बढी देखिने गरेको जनाइएको छ । पछिल्लो समय झापामा कुष्ठरोगीको संख्या दिनानुदिन बढिरहेको तथ्यलाई दृष्टिगत गरी त्यसको न्यूनीकरणका लागि जनचेताना मुलक कार्यक्रमको सञ्चालन गरिरहेको साहारा नेपालका कार्यक्रम संयोजक पवन राईले बताएका छन् ।

सम्बन्धित खबर