२०८१ माघ १३, आइतवार , ०८:३४:१० बजे

Sajhamanch
'

मेचीनगरका जनप्रतिनिधिको स्तुत्य कार्य, विपन्न एवम् मानसिक रोगी धनकुमारको उपचार सुरु

शनिवार, माघ १४, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । मेचीनगर १२ स्थित आफ्नै घरमा निर्मित खोरमा थुनिएर बाँच्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी उपचारका लागि चितवन पठाएइको हो ।

मानसिक रोगी हिंडडुलसमेत गर्न नसक्ने अवस्थाका राईलाई परिवारले घरमा नै सानो खोर बनाएर राखेका थिए । बाहिर राख्दा कुटपिट गर्ने, घर छाडेर हिंड्ने, हिडेपछि फर्केर नआउने गरेका कारण धनकुमारलाई खोरमा थुनेर राख्न बाध्य भएको उनका बुबा जीवन राई बताउँछन् ।

जीवनका अनुसार छोरालेले खोरमै खाना खाने, खोरमै दिसा पिसाब गर्ने गर्थे । आर्थिक अवस्था कमजोर रहेका कारण समयमा नै छोरालाई उपचार गराउन नसकिएको उनको भनाई छ ।

मेचीनगर नगरपालिकाले राईको उपचार गर्नेगरी २०७९ साल पौष १ गते बसेको कार्यपालिकाको बैठकले एकलाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । नगरपालिकाको तर्फबाट चितवनको खैरहनी नगरपालिका ११ गैंडाहामा रहेको ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रीमा अब राईको उपचार हुने नगरप्रमुख बुढाथोकीले बताए ।

धनकुमारलाई ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रिकका डाक्टर गिरीराज भन्ताना लगायतको टोली नगरपालिकामा नै पुगेर उपचारका लागि चितवन लगेको हो । नगरपालिकाले उद्धार गरी छोरालाई उपचारका लागि चितवन पठाएपछि निको हुने आश पलाएको बाबु जीवनले अपेक्षा राखेको बताए ।

मानसिक रोगी असहाय धनकुमारको अवस्था बुझ्न केही दिन अघि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर १२ का वडाध्यक्ष मधुसुदन निरौला, मेचीनगर महिला शाखा प्रमुख जयन्ती खरेल घरमा नै पुगेका थिए ।

उनीहरुले तत्कालै धनकुमारलाई खोरबाट बाहिर निकालेर उपचारका लागि नगरपालिकाबाट आर्थिक सहयोग गर्ने बचन दिएका थिए । सोहीअनुसार कार्यपालिकाले निर्णय गरेर रकम उपलब्ध गराउँदै उपचारार्थ अस्पताल पठाइएको नगरप्रमुख बुढाथोकीको भनाई छ ।