मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसंगै नगर भित्रहुने अवैध नदी दोहनमा कडाइ गरिएको छ । नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउनयता मेची, निन्दा र हडिया खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कार्वाही भइरहेको हो ।
नगरपालिकाले सात महिनाको अवधिमा मात्रै अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी ओसारपसार गर्ने सवारी साधानलाई नियन्त्रणमा लिई २ लाख ६५ हजार राजस्व संकलन गर्न सफल भएको मेचीनगर राजस्व उपशाखाको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार नगरपालिकाले स्टक प्रमाणित नगरी मेची, निन्दा र हडिया खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी साउन महिनामा १५ हजार, भदौ महिनामा १५ हजार, कात्तिक महिनामा २५ हजार, पुस महिनामा ६० हजार र माघ १० गतेसम्म १ लाख ५० हजार राजस्व संकलन भएको देखिन्छ ।
नगरपालिकाले नगर क्षेत्रभित्र पर्ने टिमाइ, हडिया, निन्दा र मेची नदीमा विगतदेखि नै आईईई गरी मापदण्ड अनुसार ठेक्का लगाएर ढुंगा, गिट्टी र बलुवा लगायतका नदीजन्य पदार्थहरू उत्खनन गर्दै आएकोमा त्यस विपरित कार्य गर्नेलाई अहिले धमाधम कार्वाही स्वरुप जरिवाना गरिएको नगर कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समिति संयोजक चित्रकुमार धिमालले जानकारी दिए । उनका अनुसार अहिले नगरपालिकाले ट्रयाक्टर, टिपर र जेसिभी लगायतका सवारी साधानलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरिरहेको छ ।
नगरपालिकाले अहिले नगर क्षेत्रभित्र पर्ने टिमाइ, हडिया, निन्दा र मेची नदीमा आईईई गरी ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । जसमा मेची र हडिया खोलामा ठेक्का लागि सम्झौता हुन बाँकी रहेको छ । निन्दा र टिमाई खोलामा ठेक्काको प्रक्रिया अगाडि बढ्ने क्रममा रहेको जनाइएको छ ।