काठमाडौं । आत्मदाह गर्नुअघि आम नागरिक तथा सर्वसाधारणको लागि ६५५३ शब्दको ‘सुसाइट नोट’ लेख्ने इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले यसबारे गहन छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको हो । ‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भनेका छन् ।
गृह मन्त्रालयले छानबिनको काम आज नै अघि बढाउने पनि मन्त्री लामिछानेले बताए । आचार्यले मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो ।
उनले आत्मदाह गर्नुअघि आफ्नो फेसबुक टाइमलाइनमा ६५५३ शब्दको लामो स्टाटस लेख्दै राज्यको नीति, बैंकहरु र ठूला व्यवसायीहरुको दादागिरीका विषयमा गम्भीर प्रश्नहरु उठाएका थिए ।
ती केही विषयमा छानबिन गर्नुपर्ने आवश्यकता महसुस गरी सरकारले सोही विषयमा छानबिन गर्न लागेको हो । गृहमन्त्री लामिछानेले बुधबार नै आचार्यको परिवारसँग भेटेर उनले उठाएका विषयमा छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए ।