२०८१ असोज ३, बिहिवार , ०२:४२:०७ बजे

Sajhamanch
'

भद्रपुर झापा गोल्डकप तयारी तीब्र

शनिवार, माघ ७, २०७९

भद्रपुर । आजको एक महिनापछि फागुन ७ गतेबाट सुरु हुने झापा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भद्रपुर झापा गोल्डकपको लागि प्रतियोगितास्थल मेची रंगशालाको मैदानलाई स्तरोन्नति गर्ने काम तीब्र गतिमा भइरहेको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेलपे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाउन सुरु गरेको जनाएको छ ।

भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार नेपाल, भारत तथा भुटानका गरी १० टिमको सहभागिता हुने गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । आयोजक टिमका लागि भद्रपुर ११ मा नेपाल तथा क्यामरुमका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुने समेत श्रेष्ठको भनाई छ ।

उनका अनुसार गोल्डकपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लव लगायत नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको सहभागिता रहने पक्का भइसकेको छ । महासचिव श्रेष्ठका अनुसार विजयी टिमले पुरस्कर वापत १३ लाख रुपैयाँ नगद र उपविजयी टिमले ७ लाख रुपैयाँ पाउनेछन् ।

गोल्डकपलाई निरन्तरता दिन संस्था दर्ता गरिएको छ भने भद्रपुर झापा गोल्डकपको आजीवन सदस्य बनाइँदै छ । गोल्डकपमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क हेर्न दिने व्यवस्था मिलाइने महासचिव श्रेष्ठको भनाई छ । यसैगरी, भद्रपुर नगरपालिका भित्रका सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइने श्रेष्ठले बताए ।

भौतिक पूर्वाधार भएर पनि भद्रपुरस्थित मेची रंगशाला दुई दशकयता खेलविहिन अवस्थामा थियो । यस्तो शून्यता हटाउन भद्रपुर नगरपालिकाले पहिलोपटक नीतिगत रूपमै बजेटमा समेटेर चलयमान मेची रङ्गशाला बनाउन ‘भद्रपुर झापा गोल्डकप’ को आयोजनाका लागि वातावरण तयार पारेको हो ।

सुस्त बन्दै गएको भद्रपुरको आर्थिक तथा व्यापारिक गतिविधि प्रतियोगिता सञ्चालन हुँदा बढ्नेमा स्थानीय विश्वस्त भएको नगरप्रमुख गणेश पोखरेलको भनाई छ ।

सम्बन्धित खबर