२०८१ माघ १३, आइतवार , ०८:५०:५१ बजे

Sajhamanch
'

माओवादी केन्द्रले झापामा पार्टी सुदृढिकरण तथा नवनिर्माण अभियान चलाउने

मङ्गलवार, माघ ३, २०७९

मेचीनगर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक आज मंगलबार बाहुण्डाँगीमा सम्पन्न भएको छ । बैठकले झापामा जनाधार घट्दै गएको निश्कर्ष निकाल्दै संगठन सुदृढिकरण तथा नवनिर्माण अभियान संचालन गर्ने भएको छ ।

गत मंसीर ४ गते भएको आम निर्वाचनको वस्तुनिष्ठ समीक्षा गर्दै माओवादी केन्द्र झापाले पार्टीका सबै उम्मेदवारले हार व्यहोरेको कारण संगठन सुदृढिकरण तथा नवनिर्माण अभियान संचालन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नी)ले बताए ।

बैठकले निर्वाचनको समीक्षा गर्दै मुख्य ४ वटा कारणले झापामा माओवादीले हार व्यहोर्नु परेको ठहर गरेको छ । आन्तरिक संगठन कमजोर हुनु, पार्टीले उपयुक्त उम्मेदवार छनोट गर्न नसक्नु, गठबन्धन दल नेपाली कांग्रेसले घात गर्नु र देशमा परिवर्तन ल्याउन माओवादीको हात रहेको कुरा जनतालाई बुझाउन नसक्नु रहेको संयोजक आचार्यले जानकारी दिए ।

बैठकका प्रमुख अतिथि पार्टी महासचिव देव गुरुङले आज नै पार्टी सुदृढिकरण तथा नवनिर्माण अभियानको शुभारम्भ गरेका छन्। अभियानअन्तर्गत जनताको सरोकार र जनजीविकाका विषयहरु उठाउने, नमूना कृषि कार्यक्रम ल्याउने, रेल्वे प्रभावितलाई मुआब्जा दिलाउने, हात्ती पीडितको समस्या उठाउने, कृषकका आधारभूत आवश्यकतालाई पहिचान गर्न लगाई जोनहरु व्यवस्थित गर्ने, भूमिहीन किसानलाई राहतको व्यवस्था गर्न लगाउनेजस्ता कार्य गरिने जिल्ला संयोजक आचार्यले बताए ।

अभियानका लागि प्रदेश, जिल्ला, पालिका, वडा र टोल कमिटी तथा जनवर्गीय कमिटीहरु खटिने संयोजक अग्निले बताए ।बैठकमा महासचिव गुरुङले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव राम कार्की, केन्द्रीय सदस्य झलकसिंह दर्लामीलगायतले विचार राखेका थिए ।

गत स्थानीय चुनावमा निर्वाचित भएका पार्टीका जनप्रतिनिधिलाई सम्मान गरिएको बैठकमा १५ वटै पालिकाका अध्यक्षहरुले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षहरुले प्रस्तुत गरेको प्रतिवेदनमा जनतासँग प्रत्यक्ष जोडिएका पालिकाका समस्या र सरोकारका विषयहरु उठान गरिएको माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरियाले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ कमिटीका सहायक इन्चार्ज साबित्रीकुमार काफ्ले ‘समर’, केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, केन्द्रीय सदस्य रन्जित तामाङ, प्रदेश अध्यक्ष हर्क नेम्बाङ ‘मिक्सो’, उपाध्यक्ष विजय साम्पाङ, नेता हरिकुमार राना, प्रदेश सचिवालय सदस्य सिपी कडरिया, बोधराज दाहाल, पुरुषोत्तम चुडाल, केन्द्रीय अनुशासन आयोगका पूर्णसिंह राजवंशी, बन्दना झाँगड ‘अनिशा’ लगायतको आतिथ्यता थियो ।

माओवादी केन्द्रका जिल्ला सचिव मोहन टुडुले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर अध्यक्ष राजन चिमरियाले स्वागत गरेका थिए । बैठकमा पार्टीका जिल्ला कमिटी सदस्य तथा जनवर्गीय संगठनका संयोजकसहित करिब ५०० जना सहभागी थिए ।

सम्बन्धित खबर