विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश सभामा आज भएको मतदानमा प्रस्तावको पक्षमा ५९ र विपक्षमा ३२ मत परेको थियो । प्रदेश १ मा ९३ सांसदमध्ये एक जना अनुपस्थित रहेका थिए ।
एमाले संसदीय दलका नेतासमेत रहेका कार्की पुस २४ गते एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनमत र जसपाका एक–एक सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ ।
यसैबीच, आज मन्त्रिपरिषद् पनि विस्तार भएको छ । विस्तारित मन्त्रिपरिषद्मा दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारी मन्त्री बनेका हुन् ।