२०८१ असोज ३, बिहिवार , ०१:०४:४६ बजे

Sajhamanch
'

‘सहकारी प्रजातन्त्र र समाजवादको पाठशाला’ : सहकारी अभियन्ता बाँस्कोटा

शुक्रवार, पौष २९, २०७९

जिल्ला सहकारी संघ झापाद्वारा आधा दर्जन बढी पुरस्कृत र सम्मानित

बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडको २६औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी साधारणसभा उद्घाटन गरिएको थियो ।

साधारणसभा समारोहमा ६५औं राष्ट्रिय सहकारी दिवसमा घोषित सम्मान तथा पुरस्कारहरु हस्तान्तरण गरिएको थियो । संघले २५ हजार ५५५ रुपैयाँ राशिको झापा सहकारी सम्मान पुरस्कार पहिलोपटक राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटालाई हस्तान्तरण गरेको छ ।

यसैगरी पूर्व सञ्चालक सम्मानतर्फ १० हजार ५५५ रुपैयाँ राशिसहित हरिकिशोर आचार्यलाई र उत्कृष्ट सञ्चारकर्मीका रुपमा १० हजार ५५५ रुपैयाँ राशिसहित लक्ष्मण ढकाललाई सम्मान प्रदान गरिएको छ ।

जिल्ला संघमा आवद्ध प्रारम्भिक सहकारी संस्थाहरु मध्येबाट १० हजार ५५५ रुपैयाँ राशि पुरस्कारसहित सिम्रिक बचत तथा ऋण सहकारीलाई उत्कृष्ट बचत तथा ऋण सहकारी पुरस्कार, गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट बहुउद्देश्यीय सहकारी पुरस्कार र लगनशील कृषि सहकारी संस्थालाई उत्कृष्ट कृषि सहकारी पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी नेपाल बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट बचत कारोबार पुरस्कार र फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट कर्जा कारोबार पुरस्कार स्वरुप १० हजार ५५५ रुपैयाँ र प्रशंसापत्र प्रदान गरिएको छ ।

जिल्ला संघको नजरमा विराट बहुउद्देश्यीय सहकारी संस्थाका रुदप्रसाद्र सिटौला र हिमाञ्चल बचत तथा ऋण सहकारी संस्थाका अरुणा राई उत्कृष्ट व्यवस्थापक ठहर भएका छन् । उनीहरुलाई जनही ५ हजार ५५५ रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको छ ।

साधारणसभा समारोहमा संघका अध्यक्ष गणेश ढकालले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन वाचन गरेका सुनाएका थिए ।
संघमा ४८८ वटा प्रारम्भिक सहकारी संस्थाहरु तथा केही विषयगत संघहरु सदस्य रहेको अवगत गराउँदै अध्यक्ष ढकालले संघले बचत तथा ऋणको कारोबार गरेर सदस्य संस्थाहरुलाई तरलता अभाव हुन नदिन काम गरिरहेको दाबी गरेका छन् ।

साधारणसभा समारोहका प्रमुख अतिथि विश्व बरालले सहकारीहरुले विदेश जाने युवालाई गाउँघरमा नै रोकेर स्वरोजगार बनाउन योगदान गरेकोमा खुशी व्यक्त गरे । तर सबै सहकारी संस्थाहरुले पैसा किन्ने र बेच्ने काममा लिप्त भएकोमा दुख लागेको बताउँदै फरक काम गरेर सहकारीले उत्कृष्टता हासिल गर्न उनले सुझाव पनि दिएका छन् ।

समारोहका विशिष्ट अतिथि एवम् सम्मानितहरुको तर्फबाट मन्तब्य राख्दै राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले सहकारी भनेको प्रजातन्त्र र समाजवादको पाठशाला भएको औंल्याए ।

आज सहकारी संघहरुको फोसक बचत तथा ऋणतर्फ भइरहेको तर्फ ईंगित गर्दैपूर्व गृह राज्यमन्त्री बाँस्कोटाले सहकारी भनेको साहु र आसामीको मात्र काम गर्ने क्षेत्र होइन भनी सचेत गराए ।

सो समारोहमा संघको सल्लाहकार समितिका संयोजक रामचन्द्र उप्रेतीले सहकारी अभियानलाई बचाउने सबभन्दा बलियो शक्ति इमान्दारिता र सुशासन भएकोले राम्रो गरिरहेको संस्थाहरुले शीर निहुराउन नपर्ने गरी काम गर्न सबैमा आह्वान गरे ।

जिल्ला संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गर्नुभएको समारोहको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गर्नुभएको थियो ।

सम्बन्धित खबर