२०८१ कार्तिक २, शुक्रवार , ०९:५०:२९ बजे

Sajhamanch
'

पृथ्वीनारायण शाहका दिव्योपदेश र वर्तमान अवस्था

बुधवार, पौष २७, २०७९

“मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैको साझा फूलबारी हो, सबैलाई चेतना भया” राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले वि.सं. १८३१ सालमा दिएको यो दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ ।

आज पृथ्वी नारायण शाहको ३०० औं जन्म जयन्ती । वि.सं. १७७९ साल पौष २७ गते पिता नरभूपाल शाह र माता कौशिल्यावतीको पुत्ररत्नको रूपमा जन्मिएका राष्ट्र निर्माता पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यहरूको एकीकरण गरी नयाँ नेपाल निर्माण गरेका हुन् । सानैदेखि शुरा व्यक्तिको रूपमा रहेका शाहमा अदम्य शाहस र वीर पुरुषमा हुनुपर्ने गुण थियो । वि.सं. १७९९ मा पिता नरभुपाल शाहको मृत्यु पश्चात राजा बनेका उनले सोही सालमा नुवाकोट आक्रमणबाट आफ्नो एकीकरण यात्रा शुरु गरेको इतिहास छ । वि.सं. १८२५ मा काठमाडौंमाथि अधिपत्य जमाएपछि पाटन र भक्तपूर हुँदै विभिन्न राज्यमा आक्रमण र विजय प्राप्त गरेर नेपालको सीमाना पूर्वमा टिष्टासम्म कायम गरेका थिए ।

                           साबित्रा दाहाल

२० वर्षको उमेरमा राज्यरोहण गरेका उनले जम्मा ३२ वर्ष शासन गरे र आफ्नो शासनकाल भरी नयाँ नेपालको निर्माणका लागि आफ्नो समय खर्चिई नेपालको एकीकरण गरे । ‘पृथ्वीनारायण शाहले उक्त समयमा नेपालको एकीकरण नगरेको भए आज हाम्रो अस्तित्व पनि समाप्त हुन्थ्यो होला’ विभिन्न विद्वान्हरूको विश्लेषण छ । पृथ्वी नारायण शाहले आफ्नो अधिकांश समय लडाईंमा बिताए पनि राज्यका अन्य निकायको पनि राम्रो प्रबन्ध मिलाएका थिए । उनले वि. सं. १८३१ मा दिएका दिव्योपदेशहरू अहिले पनि उत्तिकै आवश्यक र सान्दर्भिक छन् ।

पृथ्वीनारायाण शाहका दिव्योपदेशहरूः

१. ‘मेरा साना दुःखले आज्र्याको मूलुक होइन सबैको साझा फूलबारी हो, सबैलाई चेतना भया ।’

पृथ्वीनारायणको यो उपदेशले नेपालका सबै जातजाति र भाषाभाषीका मानिसहरूलाई मिलेर बस्न आग्रह र अनुरोध गरेको छ । सबैले यो भूमिमा रमाउन, खेल्न गरिखान पाउनुपर्छ उनको भनाइको तात्पर्य बुझिन्छ ।

२. ‘आ–आफ्नो जाति विशेषका कर्म (काम) गर्नु बन्देज गरी जाउला ।’

सबै जातिले आ–आफ्नो कामलाई कर्म सम्झिनु, कसैले उनीहरूको कामलाई बन्देज नगर्नु र सबैले आफ्नो परम्परालाई कायम राख्नु । यसोभयो भने देशको विकास हुन्छ । उनले दिव्योपदेशमा भनेका छन् ।

३. दुनियाँ जसदेखि राजी रहन्छन् उसैलाई कजाई दिनु ।

जसले राज्य सञ्चालन गर्दा जनता खुशी हुन्छन् उनैलाई राज्य सञ्चालन गर्न दिनु । आजको यो कुर्सी तानातान र हानाहानको नेपाली राजनीतिक वातावरणमा यसको अन्त्य गरी राज्य सञ्चालनमा दूरदर्शी र स्पष्ट नेतृत्वलाई राज्यको बागडोर सञ्चालन गर्न दिनुपर्छ भन्ने कुरा उनको यस दिव्योपदेशमा उल्लेख गरिएको पाइन्छ ।

४. उप्रान्त देशका (विदेशका) महाजनलाई गढ–पर्सादेखि उँभो (मास्तिर) आउन नदिनु । देशका (विदेशका) महाजनहरू हाम्रो मुलुकमा आए भने दुनियाँलाई कङ्गाल पारी छाड्दछन् ।

जब विदेशीहरू नेपालमा भित्रिन्छन् र हाम्रो देशको आन्तरिक अवस्था र व्यवस्था थाह पाउँछन् त्यसपछि उनीहरूले नेपाललाई सखाप पार्दछन् । त्यसैले उनीहरूलाई नेपाल भित्रिन नदिनु । आफ्नो देशको भित्री कुरा पनि थाह नदिनु । तर आज देश विदेशीहरुको चलखेलको आखडा भएको छ, जसले स्वाधीनता र राष्ट्रिय सुरक्षा खतरामा पारेको देखिन्छ ।

५. हामीले च्याँगापाँगा (घरबुना खाँडी–कोरा कपडा) लाई (लगाएर) तीन शहर नेपाल र नौ लाख किरात हिन्दूपतिको राज आर्जेथ्यौं । देश (विदेश) का कपडा लगाउनलाई मनाई गरिदिनु । आफ्नो देशको कपडा बुन्न जान्नेलाई नमूना देखाई सघाउनु र बुन्न लगाउनु । यसो भयो भने नगद विदेश जाँदैन ।

देशको आर्थिक अवस्था मजवुद बनाउन, स्थानीय साधन र स्रोतको परिचालन गर्न र स्थानीय व्यक्तिलाई रोजगारी दिन आफ्नो देशको उत्पादनलाई संरक्षण र प्रवद्र्धन गर्नु, जसले गर्दा नेपाली पूँजीको परिचालन पनि यही भूमिमा हुन्छ र अर्थतन्त्रमा यसको महत्वपूर्ण योगदान रहन्छ र देश पनि मजवुत हुन्छ । विदेशी वस्तु प्रयोग गर्नेलाई हतोत्साहित गर्नु र देशभित्र प्रविधिको प्रयोग गर्ने बानीको विकास गर्नु त्यसले गर्दा राष्ट्रको उन्नति हुन्छ । नेपालका मौलिक वस्तु (ढाका)को उत्पादन धमाधम बन्द भइरहेको वर्तमान अवस्थामा शाहको दिव्योपदेशमा उल्लेख भए बमोजिम यस्को संरक्षण गर्नु जरुरी छ ।

६. आफ्नो देशको जिनिस जडबुटी देश (विदेश) लैजानु र (नगद खैचनू) नगद खैंची राख्नु । प्रजा मोटा भया दरबार (राष्ट्र) बलियो रहन्छ ।

आफ्नो देशमा उत्पादन हुने विभिन्न प्रकारका वस्तु विदेश लगेर बिक्री गर्नु र निर्यातयोग्य वस्तुको प्रवद्र्धन र प्रोत्साहन गर्नु, यसले राष्ट्रको उन्नति हुन्छ । प्राकृतिक सम्पदाको प्रचुर धनी हाम्रो राष्ट्र नेपालमा प्रशस्त मात्रामा जडीबुटीहरु पाइन्छन्, यसलाई बिक्री गरी नगद आफ्नै देशमा भित्राउनु । यसो भयो भने जनता र राष्ट्र बलियो हुन्छ ।

७. खानी भएका ठाउँमा गाउँ भए पनि गाउँ अरु जग्गामा, सारी खानी चलाउनु ।

जुन ठाउँमा प्रचुर मात्रामा देशको आर्थिक विकासमा टेवा पुग्ने वस्तुको उत्पादन हुन्छ, त्यो ठाउँबाट उक्त वस्तुको उत्पादन गर्न त्यहाँ भएको बस्तीलाई सारेर भएपनि त्यसलाई प्रयोग गर्नु । जसले समाज र राष्ट्र विकासमा टेवा पुग्दछ । यी दूरदर्शी राजाका दिव्योपदेश अहिलेको अव्यवस्थित शहरीकरण र बसोबासको अवस्थामा पनि उत्तिकै सान्दर्भिक छन् ।

८. गह्रो बन्ने जग्गा (खेती योग्य) मा घर भए पनि घर अरु जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नु ।

अहिले धेरै ठाउँमा खेती योग्य जग्गा टुक्राटुक्रा पारेर बाँझै राखिएको छ । यसले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ । नेपाल कृषिप्रधान देश भनिए पनि खाद्यवस्तु छिमेकी मुलुकबाट मगाउनु पर्ने बाध्यकारी परिवेशमा उनको यस उपदेशलाई आत्मसात गरी खेतीयोग्य जमीनको उच्चतम प्रयोग गरेर नेपालको खाद्यान्न समस्या समाधान गर्न सकिन्छ ।

९. आफ्ना सोखसयलाई त शास्त्र बमोजिमको तीन शहर नेपालका नेवारहरूको नाँच झिकाइ हेरे पनि हुन्छ । यिनमा त दिएको पनि आफ्नै देशमा रहन्छ, यसोभए आफ्नो देश अगम (सुरक्षित) रहन्छ ।

राष्ट्रिय सुरक्षा र आफ्नो देशको कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि यहाँ कै लोक संस्कृतिको प्रयोग गर्नुपर्छ । यसो भयो भने संस्कृतिको संरक्षण हुनुको साथै आफ्नो देश पनि सुरक्षित रहन्छ ।

१०. निञा निसाप विगान्र्या भन्याको घुस दिन्या र घुस लिन्या छन्, इन दुईको ता धन जिव गरिलियाको पनि पाप छैन ।

भ्रष्टचारको जालोले छपक्क ढाकेको हाम्रो देशमा करिव २४६ वर्ष अघि पृथ्वीनारायण शाहले परिकल्पना गरेको भ्रष्टचार मुक्त राष्ट्र बनाउन अहिलेसम्म पनि समस्या देखिएको छ । “न्याय र निसाफ बिगार्ने भनेका घुस दिने र घुस खाने हुन्, यिनीहरुको सर्वश्वहरण गरी मृत्युदण्ड दिएपनि पाप लाग्ने छैन ।” भ्रष्टचार न्याय र विकासको बाधक भएकोले यसलाई जरैदेखि निर्मुल पार्नुपर्छ भन्ने सन्देस यस दिव्योपदेशले दिएको छ ।

यसरी नेपालको राष्ट्रिय विभूतिसमेत रहेका राष्ट्र निर्माता पृथ्वीनारायण शाहका यी दिव्योपदेशहरु वर्तमान नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि परिवेशमा मनन गर्नुपर्ने आवश्यक देखिन्छ । कुनै पनि सच्चा राष्ट्रभक्त नेपाली नागरिकका लागि यी अभिव्यक्तिहरु महत्वपूर्ण मार्गदर्शनका रुपमा रहेका छन् । आफ्नो राष्ट्रको उन्नति र विकास गर्नुपर्छ भने त्यहाँकै कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ । आफ्नो देशका प्राकृतिक स्रोत र साधनको परिचालन गर्नुपर्छ, मुलुकको आन्तरिक भौगोलिक सिमानालाई सुरक्षित राख्नुपर्छ । आफ्नो देशको उत्पादनलाई जोड दिनुपर्छ, निर्यातयोग्य बस्तुको निर्यातमा प्रोत्साहन गर्नुपर्छ । राष्ट्रमा भएका साधन र स्रोतलाई परिचालन गर्नुपर्छ । मुलुकलाई अस्तव्यस्त बनाइरहेको भ्रष्टचारको जालोलाई जरैदेखि उखेल्न प्रत्येक नेपाली जागरुक हुनुपर्छ । यसो भयोभने हाम्रो राष्ट्र समृद्ध हुन्छ । विदेशी शक्तिहरुको छायाँबाट टाढा रहँदै राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वावलम्बनलाई सुरक्षित राख्न सकिन्छ भन्ने सन्देश माथिका अभिव्यक्तिले प्रदान गरेका छन् ।

पृथ्वीनारायण शाहले एकीकरण गरेर परिकल्पना गरेको नयाँ नेपाललाई आज विखण्डित जातीय राज्य बनाउने केही राजनीतिक पार्टीहरुको अवधारणालाई चिर्न जरुरी छ । राष्ट्रलाई फुटाएर होइन जुटाएर मात्र वाह्यशक्तिबाट सुरक्षित रहन सकिन्छ । यसको अर्थ राष्ट्र संघीयतामा नजानु भन्ने होइन । कुनैपनि राष्ट्रलाई समृद्ध बनाउन विकेन्द्रीकृत राज्य सञ्चालन प्रणालीको निर्धारण सामथ्र्य, भूगोल, बहुपहिचान र प्राकृतिक स्रोत साधनलाई आधार बनाई राष्ट्रलाई समृृद्ध बनाएका उदाहरणहरु प्रसस्तै छन् ।

आज पृथ्वीनारयण शाहको ३००औं जन्म जयन्ती मनाई रहँदा हामी सबै नेपालीले उनका दिव्योपदेशलाई आत्मसात गरौं र स्वाधीन र समृद्ध राष्ट्र बनाउन आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिका निर्वाह गरौं । यसो भयोभने मात्र हाम्रो राष्ट्रको उन्नति र विकास हुन्छ । विदेशीसँगको पराधिनताबाट मुक्त हुन सकिन्छ । अनिमात्र राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सच्चा सम्मान हुनेछ ।

सम्बन्धित खबर