विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश १ का सहइन्चार्ज हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेशसभाका ६० सांसदहरूको समर्थनसहितको दावी प्रस्तुत गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री भएका छन् । यसअघि नेकपा एमालेका शेरधन राई र भिम आचार्य मुख्यमन्त्री भएका थिए भने पछि निवर्तमान भएका राजेन्द्र राई नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एसका नेता हुन् ।
कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्ता गठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका बनाइएको छ । भोलि नै सानो र छरितो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको पनि जनाइएको छ ।