२०८१ असोज ४, शुक्रवार , ०४:०२:१२ बजे

Sajhamanch
'

हाम्रो नेपाल साकोस : माइन्युट प्रमाणित सभासँगै नयाँ नेतृत्वलाई सपथ

आइतवार, पौष २४, २०७९

बिर्तामोड । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा अन्तर्गत माइन्युट प्रमाणित सभा शनिबार सम्पन्न भएको छ ।

गत पुस ४ गतेदेखि २१ गतेसम्म सातवटा इकागत साधारणसभाबाट सझाव संकलन गरी अन्तिम माइन्युट प्रमाणिकरण गरिएको हो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बन्दना झाँगडको प्रमुख आतिथ्यता थियो ।

वार्षिक प्रगति प्रतिवेदन प्रस्ततु गर्दै संस्थाका अध्यक्ष दंगालले संस्थाका सबै शेयर सदस्यको सामुहिक योगदानको प्रतिफल स्वरुप संस्था वर्तमान अवस्थासम्म आइपुगेको बताए । “सबै शेयर सदस्यहरुको सामुहिक योगदानले आज संस्था यो अवस्थासम्म आइपुगेको छ” अध्यक्ष दंंगालले आफ्नो मन्तब्यमा थपे, “म उहाँहरुप्रति नमन गर्दछु ।”

स्थापनाको १० वर्षे अवधिमा नै उक्त साकोस नेपालको ३०० वटाको सूचिमा र जिल्लाको उत्कृष्ट संस्थाको सूचिमा पर्न सफल भएको अध्यक्ष दंगालको भनाई छ ।

अन्तिम माइन्युट प्रमाणित भेलामा संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णराज कटुवालले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने ऋण समिति सदस्य लोकप्रसाद ओलीले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरे ।

गत आव २०७८/०७९ को असार मसान्तसमा २४ हजार ९६३ शेयर सदस्य, बचत खाता संख्या ५९ हजार ८६०, शेयर पुँजी १७ करोड २२ लाख ९१ हजार, निक्षेप संकलन ९० करोड ५१ लाख, ऋण लगानी १ अर्ब ७१ करोड ८८ लाख रहेको छ भने कूल कारोबार १ अर्ब ९१ करोड ३५ लाख रहेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाका प्रमुख अतिथि प्रदेशसभा सदस्य बन्दना झाँगड, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष विपी भट्टराई, जिल्ला सहकारी संघ झापाका सञ्चालक सदस्य ढुण्डीराज गुरागाईं, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर प्रधान, पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा, अधिवक्ता रञ्जिता कार्कीले आ–आफ्ना धारणा राखेका थिए ।

आफ्नो मन्तब्यमा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईले छोटो अवधिमा साकोसले गरेको प्रगतिलाई बधाई दिँदै वित्तीय कारोबारको दृष्टिकोणबाट संस्था उन्नति देखाउनका लागि होइन बाँड्न मिल्ने नाफा कमाएर प्रस्तुत भएको बताए ।

देशभरका ३०० वटा उत्कृष्ट सहकारी संस्थाहरुको सूचिमा पर्नु हाम्रो नेपालका लागि अर्को खुशीको विषय हो भन्दै साकोसलाई सदस्यको बारे चिन्ता लिने संस्था रहेकोमा धन्यवाद दिए । उनले संस्था ३० वर्षको हुँदा १०० वटा कार्यालय सञ्चालन गर्ने क्षमतामा विकास होस् भन्ने शुभेच्छा पनि दर्शाएका छन् ।

यसैगरी झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य ढुण्डीराज गुरागाईंले संस्थालाई सवलता र दूरगामी महत्वको बनाउन सञ्चालकहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै नेतृत्वको दुरदर्शिताले नै आज यो संस्था यहाँ पुगेको हो र हाम्रो नेपाल साकोस सिकाइको केन्द्र बन्न थालेको छ भन्ने धारणा राखे ।

कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधानले हाम्रो नेपालको प्रगतिलाई पूर्वको सहकारी अभियानमा अनुकरणीय रहेको दावी गरे । आफ्नो मन्तब्यमा सदस्यहरुलाई लक्षित गर्दै प्रधानले भने, ‘नाफा कम भएकोमा सदस्यहरूले गुनासो गर्न समय यो होइन, अहिले त स्थायित्व भएकोमा खुशी हुनुपर्ने हो । बैंकहरूले कर्जा नदिएको अवस्थामा पनि अहिले सहकारीले थोरै थोरै लगानी भइरहेको छ । संस्थालाई संकट पर्दा सदस्यले थोरै भएपनि टेवा पुर्याउनु पर्छ । न कि भुक्तानी लिन लाइन लाग्नुहोस् ।’

कार्यक्रमका अर्का वक्त पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष प्रेमप्रसाद सापकोटाले सहकारीमा जति अवसर उत्तिनै चुनौती भएको बताए । उनले सहकारी आनीबानी सम्झँदै भने, ‘विगतमा अर्को संस्थाको सदस्य प्रतिपर्धी हुन्थ्यो । अहिले सहकर्मी अभियन्ता हुन थालेका छन् । कोही प्रतिष्पर्धी छैनन् अर्थात् पानी बार्ने चलन घटेको छ ।’

सो समारोहमा अधिवक्ता रञ्जिता कार्कीले देशभरका ३०० उत्कृष्ट सहकारीको सूचिमा हाम्रो नेपाल पनि परेको सुन्दा खुशी छु भन्दै संस्था सकेसम्म कानुनी उल्झनमा नपरोस्, परेमा म सहयोग गर्न तत्पर छु’ भनिन्।

संस्थाका सञ्चालक राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव विपी लामिछानेले गरेका थिए।

नयाँ नेतृत्वलाई सपथ तथा प्रमाणपत्र प्रदान

साधारणसभाको बन्दसत्रमा संस्थाको आगामी चार वर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित सञ्चालक समिति तथा लेखा समिति पदाधिकारी सदस्यहरुलाई निर्वाचन समितिबाट सपथग्रहण तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

संस्थाको १०औं साधारणसभा अन्तरगत नयाँ नेतृत्व चयनका लागि गठित निर्वाचन समितिका संयोजक डिल्ली दाहालले सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वको नाम घोषणा गरेका हुन् ।

संस्थामा सर्वसम्मत निर्वाचित सञ्चालक समितिको अध्यक्ष भवानीप्रसाद दंगाल, उपाध्यक्षमा राजेन्द्र गौतम र सचिवमा विश्वेश्वरप्रसाद लामिछाने रहेका छन् ।

संस्थाको सञ्चालक समितिका सदस्यहरुमा कविता बुढाथोकी, कृष्णप्रसाद पोखरेल, सशिता राई, प्रतिमा कार्की, तुलसीराम गौतम र भगिरथ आले चयन भएका छन् ।

यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा कृष्णराज कटुवाल तथा सदस्यहरुमा पुजनकुमारी आचार्य र सोमनाथ नेपाल रहेका छन् ।

सम्बन्धित खबर