मेचीनगर । झापामा प्रधानमन्त्री कप महिला टी–२० प्रादेशिक क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा बिहीबार भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ ।
राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यको बर्चस्व रहेको झापाले मोरङ महिला क्रिकेट टिमलाई १४७ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको मोरङले १९ दशमलव ४ ओभरमा ४९ रनमा सम्पूर्ण विकेट गुमाएका थिए। खेलको म्यान अफ दि म्याच विजेता टिमको तर्फबाट ३३ रन २ ओभरमा १ विकेट लिएका लकिता राजवंशी घोषित भइन् ।
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पुस २९ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रदेश १ क्रिकेट संघका कोषाध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश १ स्तरीय छनोट खेलबाट १४ जना खेलाडी छनोट हुने छन् । तिनै १४ जना खेलाडीले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ को टिमबाट खेल्नेछन् ।