२०८१ असोज ३, बिहिवार , ०६:५२:४३ बजे

Sajhamanch
'

इन्धनको नयाँ मूल्य सूची आए पनि मूल्य यथावत रहने : आयल निगम

आइतवार, पौष १७, २०७९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेल बाहेकका इन्धनको मूल्य बढेर आएको छ ।

पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ । मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको छ ।

निगमका अनुसार एलपी ग्याँसमा रु. ३५९।५० प्रति सिलिन्डर घाटा रहेको छ भने १५ दिनको घाटा ४६ दशमलव ४४ करोड रहेको छ । पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा निगमलाई अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने देखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आईओसीलाई ८ जनवरी २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं सरकारलाई तिर्नुपर्ने ऋण गरी अझै करिब १८ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलिमय पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र आईओसीको बक्यौता एवं नेपाल सरकारको ऋणको व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण रहेकोले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत रहेन निगमले जनाएको छ ।

सम्बन्धित खबर