२०८१ पौष ५, शुक्रवार , ०६:३०:३७ बजे

Sajhamanch
'

नारायणघाट–बुटवल सडक खण्ड निर्माण मजदूरहरुले तलब पाएनन्, रोड प्रोजेक्ट कार्यालयमा धर्ना (भिडियोसहित)

सोमवार, पौष ११, २०७९

देवचुली । नेपालको लाइफलाइन मानिएको पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणघाट–बुटवल सडक खण्ड निर्माण केही दिनदेखि रोकिएको छ । करिब तीन महिनादेखि निर्माण कम्पनीले मजदूर र कामदारहरुलाई तलब नदिएको भनी मजदूरले रोड प्रोजेक्टमा धर्ना दिएका छन् ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले उक्त सडक खण्डको निर्माण ठेक्का पाएको हो । प्रस्तुत भिडियो र दृश्य कभर गर्दा पुस १० गते बिहानको ७ः४५ बजेको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडको रोड प्रोजेक्ट देवचुली १६ टाँगीकोट भित्र एउटा प्रहरीको भेन खडा छ र गेट भित्र–बाहिर जताततै मजदूरहरु पाकेको तलब पाउनु पर्ने माग गरिरहेका छन् ।

एक मजदूरले आफ्नो नाम र तस्वीर उल्लेख नगर्ने शर्तमा भने, ‘कम्पनीले समयमा नै तलब दिन चासो नराखेपछि मजदूरले कम्पनीको प्रोजेक्ट कार्यालयमा धर्ना दिएका हुन् । भित्र कुराकानी भई नै रहेको छ । कम्पनीका मान्छेहरु सरकारले आयोजनाको बजेट निकासा नगरेकाले समयमा नै तलब दिन नसकेको बताउँछन् । खै वास्तविकता के हो ? तर पनि मजदूरले भोको पेट काम गर्न सक्दैन भन्ने कुरा सबै पक्षले बुझ्नु पर्ने हो ।’

उक्त सडक खण्ड चारलेनमा विस्तार गर्नेगरी २०७५ पुस १ गते ठेक्का सम्झौता भएको हो । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) र निर्माण व्यवसायी बीच ४२ महिनामा विस्तार सम्पन्न गर्ने सम्झौता भएको छ ।

११३ किलोमिटर सडक खण्ड दुई प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ । नारायणघाट–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर छ । यी दुई प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ ।

कर्पोरेसनले नारायणगढ–दाउन्ने सडक स्तरोन्नति गर्न भ्याटसहित ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल सडक खण्डका लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लागेको हो ।

सम्झौताको म्याद सकिएको ६ महिना बितिसकेको छ तर कामको प्रगति हेर्दा ५० प्रतिशत हाराहारी सम्पन्न भएको अनुमान छ । राजमार्गमा पर्ने कल्भर्ट, कज्वेहरु निर्माण सम्पन्नको चरणमा देखिन्छन् । दुवैतर्फ विस्तारित खण्डमा माटो भर्ने र सम्याउने कामले तीब्रता पाएको देखिन्छ । उक्त सडक खण्डको यात्रा कष्टपूर्ण रहेको यात्रुहरुको भनाई सुनिन्छ । करिब ४ घण्टामा मात्र सडक पार गर्न सकिने अवस्था ।

यस्तो कष्टपूर्ण यात्रालाई टुङ्ग्याउन सडक निर्माणले तीब्रता लिनुपर्नेमा मजदूरहरुले तलब नपाएर आन्दोलन गर्नुपर्दा तोकिएको मितिमा सम्पन्न हुनको साटो अझै लामो समय लाग्ने यात्रुहरुको गुनासो सुनिन्छ ।

सम्बन्धित खबर