काठमाडौ । निर्वाचन आयोग नेपालले २०७९ मङ्सीर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको हो ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले नेपालको संविधान जारी भएपछि सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको दोस्रो निर्वाचन २०७९ ले मुलुकमा शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिको मार्गप्रशस्त गर्ने आधार तयार गर्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको बताइन् ।
लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गरेकामा राष्ट्रपति भण्डारीले निर्वाचन आयोगलाई धन्यवादसमेत दिएकी छन् ।
उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल एवं सरोकारवाला सबैलाई धन्यवाद पनि दिएकी छन् ।
राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणाम प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए । सो अवसरमा प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुन शम्शेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडी र सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलको उपस्थिति थियो ।