२०८१ पौष २३, मङ्गलवार , ०३:२३:४३ बजे

Sajhamanch
'

कर्णाली साकोसः एकाइगत साधारणसभा धमाधम

बुधवार, मंसिर २८, २०७९

कनकाई । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर प्रदेश १ का तीनवटा जिल्लालाई कायक्षेत्र बनाएको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२औं साधारणसभा अन्तरगत एकाईस्तरको साधारणसभा जारी राखेको छ ।

सहकारी विभागले निर्धारण गरी लागू भएको साधारणसभा सम्बन्धी नीतिअनुसार कर्णाली साकोसले मंसीर २१ गतेदेखि कार्यक्षेत्रका ७ स्थानमा एकाईस्तरको साधारणसभा गरिरहेको हो ।

संस्थाले मंसीर २१ गते दमकमा, मंसीर २७ गते सुङ्गामा, मंसीर २८ गते उर्लाबारीमा एकाईस्तरको साधारणसभा सम्पन्न गरेको सचिव भूपाल बस्नेतले जानकारी दिएका छन् । सात स्थानमा एकाइस्तरको साधारणसभा गरी पुष २४ गते अन्तिम माइन्युट प्रमाणिकरण गर्ने कार्यसूचि रहेको सचिव बस्नेतको भनाई छ ।

संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा आयोजित एकाई साधारणसभाहरुको समुद्घाटन सभामा उपस्थित दुईजना ज्येष्ठ शेयर सदस्यहरुको हातबाट दिप प्रज्वलन मार्फत गर्ने गरिएको छ । एकाई साधारणसभामा प्रमुख अतिथिका रुपमा अन्यलाई नबोलाई संस्थाकै ज्येष्ठ सदस्यहरुको हातबाट दिप प्रज्वलन गराउनुलाई अर्थपूर्णरुपमा हेर्ने गरिएको छ ।

सबै एकाई साधारणसभामा संस्थाका अध्यक्ष टसबहादुर प्रधानले वार्षिक प्रतिवेतन प्रस्तुत गरिरहेका छन् । अध्यक्ष प्रधानले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा संस्थाको शेयर ४३ करोड ७४ लाख ४ हजार १०० रुपैयाँ, बचत मौज्दात १ अर्व ८७ करोड २६ लाख ८३ हजार ९३० रुपैयाँ, लगानीमा रहेको ३ अर्व ४६ करोड ७९ लाख ४० हजार १२३ रुपैयाँ र जगेडा कोषमा १० करोड ७८ लाख ८८ हजार ४०२ रुपैयाँ रहेको उल्लेख छ ।

त्यस्तै संस्थाको स्थिर सम्पत्ति १२ करोड ७५ लाख १३ हजार ११३ रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षमा संस्थाले १० करोड ७ लाख ४८ हजार ४२० रुपैयाँ नाफा गर्न सफल भएको छ । ५० हजार ६८४ जना शेयर सदस्य र ३४ वटा संस्थाहरु आवद्ध रहेको कर्णाली साकोसले ३ अर्ब ४६ करोड ७९ लाख ४० हजार रुपैयाँ सदस्यमाझ कर्जा लगानी गरेको जनाइएको छ ।

एकाईगत साधारणसभाहरुमा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन यसका संयोजक र सदस्यहरुले पालैपालो गर्ने गरेको जनाइएको छ ।

संस्थाको चालू वर्षका लागि निर्धारण गरेको वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट कोषाध्यक्ष एकराज विष्टले प्रस्तुत गर्ने गरेका छन् । संस्थाले चालू वर्षका लागि २४ वटा कार्यक्रम बनाएको छ भने शेयर रकम ५९ करोड १८ लाख ५० हजार पुर्याउने लक्ष्य राखेको छ ।

यस्तै संस्थाको जगेडा कोषमा १० करोड ७६ लाख, कर्जा जोखिम ब्यवस्था कोषमा ६ करोड ३७ लाख ५० हजार, अन्य कोष तथा दायित्व २१ करोड ६९ लाख ८७ हजार र निक्षेप २ अर्ब ६७ करोड २५ लाख ३७ हजार पुर्याउने लक्ष्य प्रस्तुत गरिएको छ ।

संस्थाले साधारणसभा प्रयोजनका लागि यसैवर्ष गठन गरेको इकाइ नं. १ अन्तरगतको साधारणसभा आज मंसीर २८ गते उर्लाबारी उद्योग बाणिज्य संघको हलमा सम्पन्न गरेको छ ।

उर्लाबारी सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य तारा श्रेष्ठले सहभागीहरुलाई शाब्दिक स्वागत गरेको सो कार्यक्रमको उदघाटनसंस्थाका अध्यक्ष प्रधान र डा. विश्वराज काफ्लेले गरेका थिए ।

संस्थाको प्रतिवेदन अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन समितिका संयोजक रामकुमार गौतमले वाचन गरेका थिए ।

कर्णालीको साझेदार संस्था फस्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड उर्लाबारी शाखाका प्रबन्धक हिरामणि सिलवालले शुभकामना मन्तव्य राखेको सो कार्यक्रममा कोषाध्यक्ष एकराज विष्टले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रमाझ मिक्लाजुङ्ग गाउँपालिकामा रहेको भगवती माविका २ जना विद्यार्थीहरुलाई जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको संस्थाका आईटी विभाग प्रमुख विपुल गौतमले बताए ।

एकाई साधारणसभा भएका सम्बन्धित सेवा केन्द्र व्यवस्थापन समितिका संयोजकको अध्यक्षमा कार्यक्रम सञ्चालन भइरहेको सञ्चालक समितिका सदस्य गणेश पराजुलीले जानकारी दिए ।

सबै एकाई साधारणसभाहरुबाट पुष २४ गतेका लागि निर्धारित अन्तिम माइन्युट प्रमाणित साधारण सभामा प्रतिनिधित्व गर्ने तीन–तीनजना सेयर सदस्यहरुको चयन गरिएको संस्थाका सचिव भूपाल बस्नेतले बताएका छन् ।

सम्बन्धित खबर