२०८१ असोज ३, बिहिवार , ०५:३५:४९ बजे

Sajhamanch
'

सहारा नेपालको उपएकाइगत साधारणसभा जारी

बिहिवार, मंसिर २२, २०७९

बिर्तामोड । नेपालकै ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसको एकाइगत साधारणसभा अन्तरगत आज बिहीबार चारपाने, बिर्ताबजार, बिर्तामोड र बुधबारे सेवा केन्द्रका सदस्यहरुबीच छलफल गरिएको छ । यस्तै लघुवित्त तर्फका ११ वटा सेवा केन्द्रहरुमा पनि आज नै उपएकाईगत साधारणसभा गरिएको छ ।

सोहीक्रममा बिर्ताबजार सेवाकेन्द्र र गोलधाप सेवाकेन्द्रको संयुक्त उपएकाईगत साधारणसभा बिर्ताबजारमा गरिएको छ । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन प्रथम उपाध्यक्ष छविलाल खतिवडाले र लेखा समितिको प्रतिवेदन सदस्य शंखर सुवेदीले प्रस्तुत गरेका थिए । दुईवटै सेवा केन्द्र सहयोग समितिका सदस्यहरूको सक्रिय सहभागितामा आयोजित उपएकाइगत साधारणसभा कार्यक्रमको सञ्चालन सेवा केन्द्र सहयोग समितिका सदस्य कुमार बुढाथोकीले गरेका थिए ।

यस्तै बिर्तामोड सेवा केन्द्रको पहिलो उपएकाइगत साधारणसभा आज अग्रसेन भवनमा सम्पन्न गरिएको छ । सहारा नेपाल साकोस लेखा सुपरिवेक्षण समितिका संयोजक उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा आयोजित कार्यक्रममा ओलीले सञ्चालक समितिको प्रतिवेदन वाचन गरेका थिए ।

साधारणसभामा संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले चालू वर्षको बजेट तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सञ्चालन बिर्तामोड सेवाकेन्द्र सञ्चालन सहयोग समितिका सदस्य हिमादेवी प्रसाईंले गरेकी थिइन् ।

साधारणसभामा सहभागी सदस्यहरु एवम् अतिथिहरुलाई बिर्तामोड सेवाकेन्द्र सञ्चालन सहयोग समितिका संयोजक कृष्णबहादुर थापाले शाब्दिक स्वागत गरेका थिए । संस्थाले चालू आर्थिक वर्षमा ५४ करोड रुपैयाँ खुद नाफा गर्ने योजनासहितको बजेट बनाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा ‘सहारा भए अरु किन खोज्ने’ नारा दिएर सदस्यहरुको सम्पूर्ण वित्तीय आवश्यकता सहाराले नै पूरा गर्ने विश्वास दिलाउँदै सहाराले प्रवद्र्धन गरेका बाहेक अन्य सहकारीमा रहेका सदस्यलाई पनि आफ्नोमा ल्याउन कोसिस गर्ने उल्लेख छ ।

सहारा नेपाल साकोसले विगतमा झैं स्वास्थ्य सेवा योजनालाई निरन्तरता दिँदै विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएको छ । जसअन्तरगत घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरी अस्पतालबाट अप्रेशन गरी घर फर्केका सदस्यहरुलाई नियमित ड्रेसिङ्ग लगायतका प्राथमिक उपचार सेवा उपलब्ध गराउने जनाइएको छ ।

यस्तै संस्थाले चालू आर्थिक वर्षमा विशिष्टिकृत स्वास्थ्य शिविर सञ्चालन गर्नेछ योजना सार्वजनिक गरेको छ । उक्त शिविर स्थानीय सरकार, स्वास्थ्य संस्थाहरु तथा अन्य सहयोगी निकायहरुसँगको सहकार्यमा सञ्चालन गरिने सहाराको योजना छ ।

संस्थाको लोकप्रिय स्वास्थ्य कार्यक्रम ‘सञ्जिवनी कार्यक्रम’ अन्तर्गत नियमित औषधी सेवन गर्नुपर्ने प्रमुख १० वटा रोगहरु उच्च रक्तचाप, सुगर, थाइराइड, कोलस्ट्रोल, युरिक एसिड, मुटु, मिर्गौला, दम, छारेरोग र कोलाइटिटिसका बिरामीहरुलाई ५० प्रतिशत सहयोग उपलब्ध गराउने जनाइएको छ ।

यस्तै सिनियर सिटीजन हेल्थ केयर अन्तर्गत यस वर्षदेखि जेष्ठ सदस्य तथा बृद्ध आमाबुबाहरु बिरामी भई घरमा नै मिनिअस्पतालको सेवा दिन सहज बनाउन ह्वील चियर, अस्पताल बेड, कुर्सी, अक्सिजन न्यूनतम शुल्क लिई पछि निको भएपछि फिर्ता हुने गरी प्रदान गरिनेछ ।

स्वास्थ्य सम्बन्धी अर्को महत्वपूर्ण योजना ‘जीवन बरदान कार्यक्रम’ अन्तर्गत साना तथा मझौला शल्यक्रिया, प्रसुती सेवा, दुर्घटना र विशेष रोगहरुमा निर्देशिका बमोजिम सुविधा प्रदान गरिने जनाइएको छ । सुत्केरी पोषण कार्यक्रम अन्तरगत संस्थाका महिला शेयर सदस्य सुत्केरी भएको अवस्थामा पहिलो दुई सन्तानसम्म २ हजार रुपैयाँ बराबरको पोषण सामग्री उपलब्ध गराउने कामलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबर