२०८१ असोज २, बुधवार , ०२:३३:०४ बजे

Sajhamanch
'

सांसद पोखरेल फिल्डमा, रंगेली–चौकीघाट सडक निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन

बिहिवार, मंसिर २२, २०७९

विराटनगर । मोरङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा लागेका छन् । स्थानीय समस्याबारे जानकार पोखरेल निर्वाचित भए लगत्तै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा अघि बढाउन लागिपरेका हुन् ।

उनले क्षेत्र नम्बर २ अन्तर्गत रंगेलीदेखि रतुमाईको चौकीघाटसम्मको सडक चाँडै निर्माण सम्पन्न गराउन पहल गरेको जनाएका छन् । नेकपा (एमाले) मोरङका अध्यक्षसमेत रहेका सांसद पोखरेलले दक्षिणी क्षेत्रको ‘लाईफलाईन’ सडकका रुपमा रहेको निर्माणाधिन हुलाकी राजमार्गको काम चाँडै सम्पन्न गराउन निर्माण ठेकेदार र हुलाकी सडक आयोजनालाई निर्देशन दिएका हुन् ।

सांसद पोखरेलले आफ्नो निर्वाचन क्षेत्र भित्रपर्ने हुलाकी सडकखण्ड निर्माण कार्यका विषयमा चासो राखेर हुलाकी सडक आयोजना प्रमुख बिजय थापासँग कार्यप्रगति बारे जानकारी लिँदै काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका हुन् । ‘यो हाम्रो लागि लाईफलाईन सडक हो, द्रुत गतिमा काम थालेर चाँडोभन्दा चाँडो निर्माण कार्य सम्पन्न हुनुपर्यो’ सांसद पोखरेलले आयोजना प्रमुख थापालाई निर्देशन दिँदै भने, ‘निर्माण कार्यको गुणस्तरमा पनि जनताको प्रश्न उठिरहेको छ । काममा तलमाथि नहोस् ।’

उनले हुलकी राजमार्ग अन्तर्गत सो क्षेत्रका मुख्य बजारहरुको सडकको चौडाई सय मिटर फराकिलो बनाउन आवश्यक रहेको पनि औंल्याएका छन् । सांसद पोखरेलको निर्देशनसँगै आयोजना प्रमुख र इन्जीनियरहरुको टोलीले निर्माणाधिन सडकको निरिक्षण गरेको छ । सो टोलीले निर्माण कम्पनीलाई मापदण्ड अनुसारको काम द्रुत गतिमा थाल्न निर्देशन पनि दिएको जनाइएको छ ।

अहिले सो निर्वाचन क्षेत्र अन्तर्गत रंगेलीदेखि चौकीघाटसम्मको सडक निर्माण कार्यले गति लिएको स्थानीयको भनाई छ । सम्बन्धित सरकारी अधिकारीहरुलाई निर्माणाधिन सडकको स्थलगत निरीक्षण गराई समस्या समाधानका लागि पोखरेलले पहल थालेसँगै स्थानीय पनि उत्साहित भएका छन् ।

‘जबसम्म स्थानीय समस्या र जमिन माटो चिनेको जनप्रतिनिधि चुनिँदैन तबसम्म आफ्नो क्षेत्रमा केही नहुने रहेछ भन्ने कुराको अनुभूति भयो’ स्थानीय रमेश सिंहले भने, ‘अब हाम्रो समस्या बुझेको जनप्रतिनिधि आएपछि काम चाँडै सम्पन्न हुन्छ भन्ने आश जागेको छ ।’

हुलाली सडक आयोजना कार्यालयले यसै आर्थिक वर्षको अन्त्यसम्ममा कालोपत्रे सडक सम्पन्न गर्नेगरी काम अघि बढेको जनाएको छ । ‘हामीलाई यस सडकको विषयमा दिनहुँ फोनहरु आइरहन्थ्यो’ आयोजना प्रमुख थापाले भने, ‘अहिले फिल्डमा काम पनि भइरहेको छ । हामी काम सम्पन्न गर्ने दृढ संकल्पका साथ लागिपरेका छौँ ।’

सोही सडकमा पर्ने रतुवा खोलाको अधुरो पूलको कामसमेत अब सुरु हुने भएको छ । सो पूलको काम आगामी पुस अन्तिम वा माघको पहिलो सातादेखि सुरुहुने जनाइएको छ ।

सम्बन्धित खबर