२०८१ पौष २६, शुक्रवार , ०६:१०:५८ बजे

Sajhamanch
'

सिम्रिक साकोसद्वारा चार महिनामा सदस्य सुविधामा ४८ लाख भन्दा बढी सुविधा प्रदान

मङ्गलवार, मंसिर २०, २०७९

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म सदस्य सुविधामा ४८ लाख २० हजार ६९५ रुपैयाँ खर्च गरेको छ ।

सिम्रिक साकोसको नीति अनुसार ३७८ जना शेयर सदस्यहरुलाई साउन १ गतेदखि मंसीर १९ गतेसम्म उक्त रकम विभिन्न सुविधामा प्रदान गरिएको हो । सदस्यले न्यूनत ७२० रुपैयाँदेखि अधिकतम् २ लाख ७७ हजार ८५७ रुपैयाँसम्म राहत रकम पाएको तथ्याङ्क छ ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतका अनुसार ऋणि सदस्यको मृत्युपछि गरिएको कर्जा मिनाहा, दुर्घटना उपचार खर्च, सदस्य र तिनका आश्रित परिवारको अस्पताल बसेर गरिएको उपचार खर्च लगायत सामान्यदेखि जटिल प्रकृतिका उपचारमा सदस्यले सुविधा पाउने गरेका छन् ।

शेयर सदस्यले उपचार गर्दा हस्पिटलमा बुझाएको रकमको बीलको आधारमा संस्थाले शेयर सदस्यहरुलाई घरदैलो मै पुगेर राहत रकम दिने गरेको बस्नेतको भनाई छ ।

संस्थाको नीति अनुसार राहत कोषमा वार्षिकरुपमा केही रकम बुझाए पछि यस्तो सुविधा पाउन शेयर सदस्यहरु योग्य हुने साकोसका लेखा विभाग प्रमुख कमला प्रधान बताउँछिन् । सदस्यले अस्पताल बसेर गरिएको सम्पूर्ण उपचार खर्चको वास्तविक बिलको आधारमा बढीमा १ लाख रुपैयाँसम्म संस्थाले राहत प्रदान गर्ने नीति रहेको उनको भनाई छ ।

यही शिलशिलामा संस्थाको बुधबारे सेवा केन्द्रले मंसीर १३ गते मातहत शेयर सदस्यहरुलाई राहत वितरण गरेको छ । संस्थाको जोखिम व्यवस्थापन विभाग प्रमुख विजय बस्नेत र आइटी विभागका सहायक विजय पाण्डेको उपस्थितिमा बुधबारे सेवा केन्द्रमा आवद्ध रहेको विभिन्न सदस्यहरुलाई विभिन्न शीर्षकमा २ लाख रुपैयाँभन्दा बढी राहत उपलब्ध गरिएको हो ।

संस्थाको मुख्य कार्यालय बिर्तामोड छ भने झापामा २७ वटा, इलाममा १० वटा, मोरङ्गमा १० र पाँचथर जिल्लामा एउटा सेवाकेन्द्र गरी ४८ वटा सेवा केन्द्रबाट ५५ हजार १४१ जना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ ।

२०७९ कात्तिक मसान्तको वित्तीय विवरण अनुसार सिम्रिक साकोसको सेयर पुँजी ३१ करोड ३७ लाख ८१ हजार ६००, निक्षेप १ अर्ब २५ करोड १२ लाख १५ हजार २३२, कर्जा लगानी २ अर्ब ३५ करोड २२ लाख ४७ हजार ५०४ र वासलात २ अर्ब ७० करोड १९ लाख २२ हजार ००८ रुपैयाँको रहेको छ ।

सम्बन्धित खबर