२०८१ पौष २६, शुक्रवार , ०६:१४:५५ बजे

Sajhamanch
'

प्रदेश १ का सहकारीमा सदस्य र कर्मचारी थपिए पनि पुँजी, बचत र ऋणको बृद्धिदर घट्यो

मङ्गलवार, मंसिर २०, २०७९

झापा। नेपाल राष्ट्र बैंकले गरेको एक अध्यनमा प्रदेश १ मा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्षमा सहकारीको पुँजी, बचत र ऋणको बृद्धिदर घटेको पाइएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारी अनि उच्च मुद्रास्फितीका कारण आर्थिक गतिविधिमा कमि आएसँगै सहकारीको कारोबार पनि घट्न थालेको हो।

राष्ट्र बैंकको प्रतिवेदनले २०७८ असारको तुलनामा २०७९ असारमा सहकारी संस्थाको कुल पुँजी १३ दशमलव ९ प्रतिशतले मात्र बढेको देखाएको छ । २०७८ असार मसान्तमा सहकारी संस्थाको पुँजी २५ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो ।

२०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा सहकारीको कुल बचत १७ दशमलव ८ प्रतिशत र कुल कर्जा २५ दशमलव ५ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा सहकारीको बचत ३४ प्रतिशत र कर्जा ४३ प्रतिशतले बढेको थियो ।

कारोबार घटेपनि सहकारीका सदस्यहरुको संख्यामा भने बृद्धि भएको छ । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा सहकारी संस्थाको सदस्य संख्या १६ दशमलव ३ प्रतिशत र कर्मचारी संख्या २६ दशमलव ५ प्रतिशतले बढेको तथ्याङ्कमा देखिन्छ । २०७८ असार मसान्तमा सहकारी संस्थाका सदस्यहरुको संख्या १५ दशमलव ८ प्रतिशत र कर्मचारी संख्या १८ दशमलव ५ प्रतिशतले मात्र बढेको थियो ।

सहकारीमा बैंक तथा वित्तीय संस्थाको तुलनामा निक्षेपमा बढी ब्याज पाइने र कर्जा लिने प्रक्रिया छोटो भएकाले बचत गर्न तथा ऋण लिन सर्वसाधारणको आकर्षण बढेको प्रतिवेदनमा औंल्याइएको छ ।

राष्ट्र बैंकले प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएका बचत तथा ऋण सहकारी संस्थामध्ये ऋण लगानीका आधारमा नमूना छनोट गरिएका १० ठूला बचत तथा ऋण सहकारी संस्था (साकोस)बाट प्राप्त विवरणको आधारमा विश्लेषण गरिएको जनाएको छ ।

सम्बन्धित खबर