२०८१ मंसिर १३, बिहिवार , ०६:२५:१० बजे

Sajhamanch
'

झापा २ का विजयी उम्मेदवारहरु मतदातालाई आभार प्रकट गर्दै फेरि वडावडामा पुग्दै

शुक्रवार, मंसिर १६, २०७९

बिर्तामोड । झापा क्षेत्र नं. २ बाट विजयी उम्मेदवारहरु मतदातालाई धन्यवाद तथा आभार प्रकट गर्न वडा वडामा आयोजित सभाहरुमा पुगिरहेका छन् । मतदान पहिले आफ्ना एजेण्डा लिएर गाउँगाउँ पुगेका उम्मेदवारहरु निर्वाचनबाट मत परिणाम सार्वजनिक भए पछि फेरि विजयी प्रतिनिधि बनेर गाउँगाउँ पुगिरहेका हुन् ।

सोही क्रममा बिहीबार बिर्तामोड वडा नं. ४ ले नेकपा एमाले झापा जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको धन्यवाद सभामा झापा २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवराज घिमिरे, प्रदेश सभामा विजयी चिन्तन पाठक, एकराज कार्की र क्षेत्र नं. ३(२)बाट विजयी छवि चुडाल सहभागी थिए । उनीहरुलाई नेकपा एमालेका विभिन्न तहका नेता कार्यकर्ताहरु तथा राप्रपा २ नं. क्षेत्रका नेताहरु एवम् मतदाताहरुले खादा माला अबिर लगाएर बधाई ज्ञापन गरेका हुन् ।

सो क्रममा मन्तब्य राख्दै झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा नवनिर्वाचित सांसद देवराज घिमिरेले मंसीर ४ गते भएको निर्वाचनको मत परिणाम देशव्यापी रुपमा हेर्दा अस्वभाविक नरहेको टिप्पणी गरेका हुन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्जसमेत रहेका घिमिरेले एमालेलाई सिध्याउने गठबन्धनको योजना हुँदा पनि यतिको राम्रो नतिजा आउनु स्वभाविक रहेको बताएका हुन् । एमालेलाई सिध्याउँछौँ भनेर लाग्ने दलहरुको योजनालाई मंसिर ४ को निर्वाचनबाट जनताले विफल बनाइदिएको उनको बुझाई छ ।

‘नेकपा एमालेले गरेका राम्रा कामका कारण जनताले एमालेको चुनाव चिह्न र एमालेको समर्थनमा उठेका सांसदलाई विजयी गराए’ नेता घिमिरेले भने ‘यस्तो घेराबन्दीमा पनि आफूप्रति जनताले देखाएको अगाध मायाको कदर गर्दै उनीहरुका आशा जसरी भए पनि पूरा गर्नेछु ।’

तर अहिलेको चुनावी नतिजाले अबको ५ वर्ष पछि देशमा जति विकास निर्माणका काम हुनुपर्ने हो, त्यति हुन नसक्ने आशंकासमेत उनले व्यक्त गरेका छन् । सरकारको नेतृत्व एमालेले गर्ने वातावरण बने देशमा विकासको मूल फुट्नेथ्यो भन्दै उनले भने, ‘यदि एमाले प्रतिपक्षमा बस्नुपर्यो भने विकास पनि ठप्प हुनेछ ।’

बितेको २ वर्षमा नै गठबन्धनले देशलाई यो हालतमा पुर्याइसकेको स्मरण गराउँदै नवनिर्वाचित सांसद घिमिरेले भनेका छन्, अझ पनि उनीहरुकै हातमा देश जाने हो भने झन् के होला ! देश फेरि पनि बर्बादी तिर जानेछ । ’

यस्तै, झापा क्षेत्र नं. २ प्रदेशसभा १ बाट निर्वाचित प्रदेशसभा सांसद एकराज कार्कीले जतिसुकै घेराबन्दी गरे पनि प्रदेश १ मा एमाले ठूलो पार्टी बन्न सफल भएको बताए । एमालेलाई कुनै पनि हालतमा जित्न नदिने योजना बनाएर गठबन्धनले कतिपय ठाउँमा उम्मेदवार नहुँदा अर्को क्षेत्रबाट ल्याएर पनि उम्मेदवार बनाएको तर एमाले हराउने योजना सफल नभएको उनको तर्क छ ।

कार्कीले आफूले जितेसँगै अब आफ्नो क्षेत्रको विकासमा लागिपर्ने बताएका छन् । यसअघि पनि सोही क्षेत्रबाट विजयी प्रदेश सांसद कार्कीले बिर्तामोडको ९ वटा र कनकाइका २ वटा वडा आफ्नो क्षेत्रमा पर्ने भन्दै त्यस क्षेत्रमा विकासका योजना बनाएर काम गर्ने प्रतिवद्वता जनाएका छन् ।

यसअघि सुरु गरेर सम्पन्न नभएका अधुरा रहेका योजनाहरुलाई अब निरन्तरता दिने र ५ वर्षमा आफ्नो क्षेत्र एउटा नमूना क्षेत्रको रुपमा अगाडि लिएर जाने विश्वास दिलाएका छन् ।

सम्बन्धित खबर