हल्दीवारी । झापा क्षेत्र नं. ३ बाट नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले बुधबार एकैदिन तीनवटा पूलको शिलान्यास गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका लिङ्देनले हल्दीबारी गाउँपालिकामा निर्माण हुन लागेका ३ वटा पक्की पूलको शिलान्यास गरेका हुन् ।
लिङ्देनले शिलान्यास गरेका पूलहरुमा वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव ७ मिटर लामो, वडा नं. ३ को भुसुडी खोलामा २६ दशमलव ८ मिटर लामो र भुसुडी खोलाकै अर्को स्थानमा २६ दशमलव ८ मिटर लामो पूल निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिएका छन् ।
४ करोड ६७ लाख ९४ हजार ८७८ रुपैयाँमा ३ वटा पूल निर्माणका लागि ठेक्का सम्झौता गरेको सारा सृष्टि निर्माण सेवा प्रालिले २०८१ मंसीर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
गाउँपालिका क्षेत्रभित्रका अन्तिम ३ वटा काठका पूल विस्तापित गर्दै पक्की पूल निर्माणका लागि ठेक्का लगाइसकेको बताउँदै समयसीमा भित्र निर्माण सम्पन्न हुने कुरामा ढुक्क हुन पालिका अध्यक्ष रविन्द्र लिङ्देनले आश्वासन दिएका छन् ।
कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं. ३ (ख)का नवनिर्वाचित सांसद छवि चुडालको उपस्थिति रहेको थियो ।