२०८१ असोज ३, बिहिवार , ०४:३९:५० बजे

Sajhamanch
'

बिर्तामोडमा यो वर्ष पनि बाख्रा र बंगुरका पाठा साटासाट गरिने

मङ्गलवार, मंसिर १३, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालन तथा बंगुरपालनका लागि आवेदन दिने महिला कृषक समूहहरुको अनुगमन गरेकी छन् । उनले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा साटासाट कार्यक्रम र ग्रामीण महिला बंगुर साटासाट कार्यक्रम अन्तर्गत समूह छनोट गर्न फिल्ड अनुगमन गरेकी हुन् ।

नगरप्रमुखको फिल्ड भ्रमणले नगरपालिकामा मेयर पकेट कार्यक्रमलाई यसवर्ष पनि अघि बढाएको सन्देश गएको छ । वडा नम्बर ७ को नवज्योति महिला कृषि समूह, वडा नम्बर ८ मा रहेको नवजागरण बाख्रापालन कृषक समूह र वडा नम्बर ९ मा रहेको सम्झना महिला कृषक समूहको अनुगमन भएको हो ।

अनुगमनबाट छनोटमा परेका कृषक समूहहरुलाई नगरपालिकाले बाख्रा तथा बंगुरका पाठा प्रदान गर्ने पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । मापदण्ड अनुसार समूहमा १५ जना सदस्य अनिवार्य रहनुपर्ने र छनोटमा परेका बाख्रापालन समुहको लागि ४५ वटा र बंगुरपालन समूहका लागि ३० वटा पाठा प्रदान गरिने शाखाप्रमुख दाहालले बताइन् । सो कार्यक्रम अन्तरगत बाख्रापालन समूहलाई एउटा विउ बोकासमेत दिइने जनाइएको छ ।

नगरपालिकाले बाख्रा तथा बंगुर पालन गर्ने समूहका कृषकहरुलाई खोर निर्माणका लागि ३५ हजार रुपैयाँ पनि प्रदान गर्ने गरेको छ । हुनसक्ने क्षतिलाई कम गर्न बाख्रा तथा बंगुरको बीमा समेत गरेर समूहलाई सुरक्षा प्रदान गर्ने नगरपालिकाको नीति छ । बाख्रा तथा बंगुर प्राप्त गर्ने समूहहरुले पहिलो वर्षको अन्तिममा त्यति नै संख्यामा अर्को समूहलाई पाठा हस्तान्तरण गर्नुपर्ने नियम बनाइएको छ ।

अनुगमनका क्रममा नगरप्रमुख प्रसाईले ग्रामीण भेगमा रहेका गरिब, दलित, आदिबासी, जनजाति तथा पिछडिएका महिलाहरुको जीवनस्तर उकास्नको लागि आर्थिक वर्ष २०७४÷०७५ सालदेखि बिर्तामोडमा मेयर पकेट कार्यक्रम लागू गरिँदै आएको बताइन् । उनले छनोटमा परेका समूहहरुको लागि तालिमको समेत व्यवस्थापन गरिएको बताएकी छन् ।

नगरपालिकाले पशुपंछी तथा मत्स्य विकास शाखा मार्फत बाख्रापालन, बंगुरपालन लगायत गाईगोठ सुधार, बाख्राको खोर सुधार, पोशिलो घाँस उत्पादन र मत्स्य पालन कृषक समूहको लागि विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको शाखा प्रमुख दाहालको भनाई छ ।

नगरले पशुपंछी तथा मत्स्य विकास शाखामा आवेदन दिने समूहहरु मध्ये आधारभूत मापदण्डका आधारका बाख्रा तथा बंगुरका पाठा वितरण गर्ने गरेको छ । अनुगमन टोलीमा नगरप्रमख प्रसाई, वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल अविरल, पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, निमेश थापा लगायत सहभागी थिए ।

सम्बन्धित खबर