२०८१ पौष २२, सोमवार , ०५:४८:१२ बजे

Sajhamanch
'

एनएमसीमा साधारणसभा सुरु, साढे ५ करोड शेयर बोनस बाँडिने

शनिवार, मंसिर १०, २०७९

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुलाई ५ करोड ६५ लाख २४ हजार ५९१ रुपैयाँ शेयर बोनस वितरण गर्ने भएको छ । संस्थाको ३०औं वार्षिक साधारणसभाको लागि तयार गरिएको वार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो ।

संस्थामा गत आव २०७८/०७९ को असार मसान्तमा १ लाख ३५ हजार शेयर सदस्य रहेका छन् । संस्थामा एक अर्ब ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ शेयर पुँजी, आठ अर्ब ६५ करोड ७६ लाख ८५ हजार रुपैयाँ निक्षेप मौज्दात र ८९ करोड ७२ लाख ३५ हजार रुपैयाँ कोष हिसाब रहेको छ । गत आर्थिक वर्षमा संस्थाले कर अघिको नाफा १३ करोड ६७ लाख २५ हजार गरेको प्रतिवेदनमा उल्लेख छ ।

झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको संस्थाले बिर्तामोडस्थित सेवाकेन्द्र कार्यालयमा आज शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले वार्षिक प्रतिवेदन संयुक्तरुपमा अनावरण गरेका हुन् ।

सो कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले वार्षिक प्रतिवेदनका मुख्य अंशहरु माथि चर्चा गर्दै कोरोनाको कहर र मुलुकमा व्याप्त तरलता संकटका बाबजुद एनएमसी आफ्ना सदस्यहरुको सेवामा सहजरुपमा अघि बढिरहेको बताए ।

“संस्था बहुव्यवसाय सञ्चालन गर्ने योजना अनुरुप अघि बढिरहेको छ” उनले भने, “त्यसमा पनि कृषिलाई प्राथमिकता दिएर अघि बढेका छौं, कृषिमा आधारित व्यवसायलाई प्राथमिकता दिएका छौं ।”

पत्रकार सम्मेलनमा अध्यक्ष उप्रेतीले हालसम्म संस्थाले १३ वटा सहकारीसँग एकीकरण गरिसकेको र तीनवटा एकीकरणको तयारीमा रहेको अवगत गराए । संस्थाले यही मंसिर १८ गतेदेखि ६ दिन ५४ स्थानमा इकाइगत साधारणसभा गर्ने र पुस २ गते अन्तिम माइन्युट प्रमाणिकण सभा गरिने जनाइएको छ ।

झापा, मोरङ र इलाम जिल्लाका कार्यक्षेत्र रहेको एनएमसीले विभिन्न ८० वटा इकाइबाट कृषि, वित्तीय, पसल लगायतका सेवा प्रदान गर्दै आएको छ । ती इकाइहरुमा १ हजार १२५ जनाले रोजगारी पाएको प्रतिवेदनमा जनाइएको छ ।

आफ्ना सेयर सदस्यको मृत्यु भएमा ५० हजार रुपैयाँ राहत सुविधा प्रदान गर्दै आएको एनएमसीले सदस्यका बुवा–आमा–श्रीमान–श्रीमती–छोरा–छोरीको मृत्यु भएमा शुद्याईं खर्च वापत १० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

यस्तै सडक दुर्घटनाका कारण सदस्यको मृत्यु भएमा १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, प्राकृतिक प्रकोपबाट सदस्यको सम्पत्ती हानी नोक्सानी भएमा २५ हजार रुपैयाँसम्म राहत सुविधा प्रदान गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले वित्तीय कारोबारसँगै डेरी उद्योग, चिया उद्योग, एकीकृत नमूना कृषि फर्म र सहकारी पसल सञ्चालन गर्दै आएको छ । संस्थाले भोलि मंसीर ११ गतेदेखि सहकारी पसलमा उपभोक्ता वृद्धि गर्न आफ्ना सदस्यलाई बढीमा २५ हजार रुपैयाँसम्म उधारो दिने योजना सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा वितरित प्रेसनोटमा संस्थाका असल कारोबारी सदस्यहरुको सुविधाका लागि उधारोमा सामान दिने योजना अघि सारिएको उल्लेख छ । यस्तो सुविधाको उपभोग गर्ने सदस्यहरुले हरेक महिनाको १४ गते अगावै वक्यौता भुक्तानी गर्नुपर्ने नीति पनि सार्वजनिक गरिएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सहजीकरण गरेको पत्रकार सम्मेलनमा उठेका जिज्ञासाहरु अध्यक्ष उप्रेतीले सम्बोधन गरेका थिए । संस्थाका उपाध्यक्ष भगवती घिमिरेको शाब्दिक स्वागतबाट सुरु भएको पत्रकार सम्मेलन वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाको धन्यवाद ज्ञापनबाट सकिएको थियो ।