काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–३, सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् ।
हिजो बेलुका करिब ८ बजे भे १ क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडि आगो तापिरहेका पाँचजनालाई एकैसाथ ठक्कर दिएको थियो ।
दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटना स्थल मै र ४५ वर्षकै रामु थारुको उपचारका क्रममा नेपालगन्जस्थित नर्सिङहोममा राति पौने १० बजे मृत्यु भएको जनाइएको छ ।
सोही दुर्घटनामा घाइते भएका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय लक्ष्मण सुनारको सोही नर्सिङहोममा उपचार भइरहेको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी दिएको छ ।
बाह्रखरीबाट