२०८१ पौष ७, आइतवार , १२:१०:५७ बजे

Sajhamanch
'

बिर्तामोडका चौधरी परिवारले छोराको जन्मोत्सव स्कूलमा मनाउँदै कम्प्युटर र खेल सामग्री दिए

सोमवार, माघ १७, २०७८

अर्जुनधारा । कोभिडका कारण लामो समयदेखि विद्यार्थीको पढाई प्रभावित छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी झन् बढी प्रभावित बनेका छन् । कोभिडको यो सन्त्रासमा अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि धेरै सामुदायिक विद्यालय भने अनलाइन कक्षा सञ्चालन गर्नबाट बञ्चित छन् । एक त सबै सामुदायिक विद्यालयमा उपकरण नै छैन, अर्कोतर्फ सबै विद्यार्थीको पहुँचमा मोवाइल र इन्टरनेटको सुविधा पुगेकै छैन् ।

विद्यार्थीलाई सानै उमेरदेखि कम्प्युटर शिक्षा प्रदान गर्दै महामारीको यो समयमा अनलाइन कक्षासमेत सञ्चालन गर्ने लक्ष्य लिएको अर्जुनधारा नगरपालिका ५ मा रहेको नवज्योति आधारभूत विद्यालयले उपकरण अभावमा चाहेर पनि विद्यार्थीलाई सहज कक्षा सञ्चालन गर्न सकेको थिएन ।

आज बिर्तामोड १ निवासी एक चौधरी परिवारले आफ्ना छोराको जन्मदिनमा तीन थान कम्प्युटरसहित आवश्यक सामग्री दान गरेसँगै विद्यालय परिवार हर्षित बनेको छ । बिर्तामोड १ का सञ्जय र दुर्गा चौधरीले छोरा साइसरको जन्मदिनमा विद्यालयलाई कम्प्युटर लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै चौधरी परिवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्ववन्धु थापा, संस्थापक अध्यक्ष जीवनकुमार खतिवडा, विद्यालयका प्रधानाध्यापक कमल भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष ओमप्रकाश लुइटेललाई संयुक्तरुपमा कम्प्युटर हस्तान्तरण गरेका हुन् । सोही समारोहमा चौधरी परिवारबाट विद्यार्थीलाई खेल सामग्रीसमेत प्रदान गरिएको छ ।

सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा सञ्जयले आफूले पनि सामुदायिक विद्यालयमा नै अध्ययन गरेकोले यहाँका विद्यार्थीको अवस्थाका विषयमा आफूलाई राम्रो ज्ञान भएकाले अध्ययननमा सहयोग पुर्याउन कम्प्युटर प्रदान गरेको बताए ।

विद्यालय परिवारका तर्फबाट बोल्दै विद्यालयका संस्थापक अध्यक्ष खतिवडाले अहिलेसम्म विद्यालयमा जन्मोत्सव मनाउँदा यस प्रकारले कसैले पनि नमनाएको र फजुल खर्चलाई कटाएर यसरी पनि जन्म दिन मनाउन सकिन्छ भन्ने शिक्षा चौधरी परिवारले दिएको बताए ।

सो समारोहमा चौधरी परिवारका तर्फबाट बोल्दै साइरसकी हजुरआमा पार्वती चौधरीले नातिको जन्मदिन विद्यालयमा सबैसँग मनाउन पाउँदा खुशी लागेको बताइन् । उनले आफ्ना नातिसहित सबै बालबालिकाको उज्ज्वल भविस्यको कामना समेत गरिन् ।

सम्बन्धित खबर