भद्रपुर । पछिल्लो केही महिनायता हात्तीको उपद्रो तीब्रगतिमा बढ्दै गएपछि पूर्वोत्तर झापाका पीडितहरूले समस्याको दीर्घकालीन समाधानका लागि सरकारका ७ वटा निकायलाई आज एकसाथ ज्ञापनपत्र बुझाएका छन् ।
हात्ती पीडित संघर्ष समिति बुद्धशान्तिका संयोजक भवानीप्रसाद ढकालको नेतृत्वमा आएको टोलीले अविलम्व समस्या समाधान गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा हरेक रात जंगली हात्ती गाउँबस्तीमा पसेर घरटहरा भत्काउँदै अन्नबाली खाने नष्ट गर्ने तथा खेदाएर मानिसको हत्या गर्नेसम्मका घटना बढेकोमा ध्यानाकर्षण गराइएको छ ।
धनजनको क्षति दिनहुँ बढेको तर पीडितलाई राहत दिने प्रक्रिया ढिलो हुँदा पीडामाथि पीडा थपिएको स्मरण गराउँदै ज्ञापनपत्रमा रैथाने हात्तीको झुण्डलाई गाउँबस्ती पस्न नदिन कडा सुरक्षा व्यवस्था कायम गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष ढकालले पीडित नागरिकका समस्या अविलम्ब हल नभए बन्द, हड्ताल, घेराउजस्ता कठोर आन्दोलन गर्ने बाध्यता आइलाग्ने चेतावनीसमेत दिएका छन् ।
झापामा १४ वटा हात्ती विभिन्न झुण्ड बनाएर बाहुण्डाँगीदेखि घेराबारीसम्म जिल्लाका विभिन्न स्थानमा पुगेर बालीनाली नोक्सान गर्ने, जनधनमा क्षति पुर्याउने गरेको भए पनि सरकारी पक्षले हात्ती नियन्त्रणका लागि पर्याप्त चासो नदिएको पीडितहरूको गुनासो छ ।