२०८१ असोज ३, बिहिवार , ०६:३७:५६ बजे

Sajhamanch
'

श्रमिक कर्मचारीहरुको स्वास्थ्य र सुविधाप्रति युनिकमको चासो

शुक्रवार, वैशाख ५, २०७७

झापा । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति गम्भिर बन्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि देशव्यापी लकडाउन भएपछिको असहज परिस्थितिमा संघमा आबद्ध श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति युनिकमले गम्भिर चासो व्यक्त गरेको हो ।

युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलद्वारा जारी विज्ञप्तीमा यो जटिल परिवेशमा आवश्यक समन्वयका लागि नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्श लगायतका संघ संस्थाको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिएको छ । व्यापार क्षेत्रका श्रमिक र कर्मचारीहरुका रोजगारदाता र प्रतिष्ठानलाई युनिकमले संकटमा अभिभावकीय भूमिका निर्वाह गर्न अपील गरेको छ ।

लकडाउनका समयमा कार्यक्षेत्रमा नखटिने श्रमिक र कर्मचारीको नियमित तलब सुविधा नरोक्न उसले प्रतिष्ठानहरु समक्ष आग्रह पनि गरेको छ । यो अवधिमा काममै खटिएका कर्मचारी र श्रमिकलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन पनि युनिकम नेपालले माग गरेको छ । विषम परिस्थितिमा खटिने कर्मचारीलाई अतिरिक्त पारिश्रमिकको प्रबन्ध गर्न माग गर्दै युनिकमले रोजगारदाता र प्रतिष्ठानहरुलाई पनि यथेष्ट सहयोग गर्न वित्तीय संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।

यसैगरी सहकारी संस्थाहरुमा कार्यरत कतिपय कर्मचारी र बजार प्रतिनिधिहरुलाई सुरक्षा सामग्री उपलब्ध नभएको गुनासो प्रति पनि युनिकम नेपालले चासो व्यक्त गरेको छ । उसले संगठित असंगठित सबै क्षेत्रका मजदूर कर्मचारीको न्यूनतम सुविधा र स्वास्थ्यप्रति राज्य संयन्त्र जिम्मेवार बन्नुपर्ने आवाज उठाएएको छ । राजधानी काठमाडौसहित ठूला शहरबाट मजदूरहरु कष्टकर रुपमा गाउँ फर्किरहेको परिस्थितिप्रति तत्काल राज्यले सम्बोधन गर्नुपर्ने माग पनि विज्ञप्तीमा गरिएको छ ।

सम्बन्धित खबर