२०८१ मंसिर १२, बुधवार , ०१:५०:०० बजे

Sajhamanch
'

सोसल समिडियामा अमेरिका युरोपमा बस्नेहरुलाई लेखिएका स्टाटसहरुले हाम्रो चहराइरहेको घाउमा नूनचुक छर्किए झैं भइरहेको छ

बिहिवार, वैशाख ४, २०७७

प्रिय मित्रहरु,

हामी सम्पूर्ण न्यूयोर्कबासी नेपालीहरु कोरोना भाइरसको इपिसेन्टरमा बसेर यो अत्यासलाग्दो क्रुर समयसँग लडिरहेका छौं । अहिलेसम्म यहाँ धेरैजना नेपालीको मृत्‍यु भइसक्यो । अरु कति संक्रमित हुनुहुन्छ कुनै आंकडा छैन। सकारात्मक सोच राख्दै आत्माबल जति नै बलियो बनाउन कोसिस गरे पनि आफ्नै आँखा अगाडि मृत्‍यु नाचेको देख्दा, आफ्ना मान्छेहरु भकाभक मृत्‍युको गाँस बनेको देख्दा भएको अलिअलि होस पनि हराउँदो रहेछ, दह्रो मुटु पनि यसैयसै काँप्दो रहेछ।

यो समयमा सकारात्मक भावहरुको कति खाँचो छ, त्यो पनि आफ्नो नेपाली समुदायबाट, अझ बढी महसुस भइरहेको छ। हामी यतिबेला क्रुर भाइरस बिरुद्धको बाहिरी लडाईंका साथ बन्द कोठाभित्र यसको प्रभावले निम्त्याइरहेको मानसिक अन्तरद्वन्दको दोरोहो लडाईं लडिरहेका छौं । यो बन्द समयमा समय काट्न सबैभन्दा प्रयोग हुने माध्यम नै सोसल मिडिया रहेछन् । केही समययता हामीलाई खट्किएको खास गरेर युरोप, अमेरिकामा हुने नेपालीहरुलाई लक्षित गरेर सोसल मिडियाहरुमा बनाइएका जोक्स, मिम्स, मन बिझ्ने गरी स्ट्याटसहरु लेखिएका छन् र यो प्रचलन धेरै नै बढ्दो छ । यो पढ्दा, हेर्दा हामीलाई हाम्रो चहराइरहेको घाउमा नूनचुक छर्किए झैं भइरहेको छ ।

हामी नेपाली संसारको जुनसुकै कुनामा रहुँ, हाम्रा आमाबुवा, दिदीबहिनी, दाजुभाइ पिडामा पर्दा हामी बाहिर रहेकाहरुलाई पनि उत्तिकै पिडा हुन्छ, हुनुपर्छ । हिजो जस्तो लाग्छ भुइँचालोले देश ढल्दा हामी काम गर्ने ठाउँमा जोडिएको टेलिभिजनमा त्यो भयानक दृष्य हेर्न नसकी रुँदै घर फर्किएको, अलिअलि पनि राहत होला कि भन्दै टोक्रो थापेर एकएक सुकी जम्मा पारेको, स्वयमसेवक बनेर नेपाल आमालाई फेरि उठाउन सकिन्छ कि भनेर जागिर नै लात हानेर मातृभूमि कुदेको हिजै त हो नि ! यस्तो कुन चाहिँ दुःख, पिडा नहोला जहाँ आफ्ना नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई दुःख पर्दा आफ्नो गाँस काटेर हामीले आफ्नो सहभागिता नजनाएको ? यस्तो कुन पल होला हामी टाढा रहेर पनि हामी आफ्नो कर्तब्यबाट चुकेको ? कुन चाहिँ यस्तो दुःख, पिडा होला जहाँ घरदेश रुँदा परदेशीको आँखा नभिजेको ? यो समयमा यस्ता कुराहरु उप्काएर हामीले गरेको सहयोग, सद्भभावको गिन्ती गराउन खोजेको नठान्नु होला। किनकी प्रेम, स्नेह, सद्धभाव त्यो अनमोल चिज हो जसलाई कुनै शब्दले व्याख्या गर्नै सक्दैन। बस् यति मात्र भन्न खोजेको हो कि, हामी जहाँ रहुँ हाम्रो एकता जिउँदो रहोस्, हाम्रो भाइचारा नमरोस् ।

हामीलाई थाहा छ सबै हाम्रो पिडामा सकरात्मक भाव लिएर हाम्रो हौसला बढाउँदै हाम्रो साथ खडा हुनुहुन्छ। तर, जसलाई हाम्रो पिडाले छोएको छैन, उहाँहरुलाई मेरो दश औंला जोडेर आग्रह छः प्लिज, यो समय देश बाहिर हुने कसैको पनि मनोबल गिराउने कुनै पनि कुरा नलेख्नु, नभन्नु होला । साथीहरु, आज बाँचिएछ भने भोलि त्यस्ता कुराहरु भन्ने दिन कति आउँछन् कति। भोलि यही चौतारीमा निर्धक्क मनले “परदेसिनु रहर हो कि बाध्यता ?” विषयमा बहस गरौला नि ! बस्, यो समय घरभित्रै बसेर सकिन्छ भने आफ्नो आफ्नो इश्वरसँग सबैको कुशलताका लागि प्रार्थना गरौ । सकिँदैन भने छुद्र बचन बोलेर, लेखेर पिडासँग लडिरहेकाहरुको चित्त दुखाउने, मनोबल गिराउने, दुःखमा ताना मार्ने काम कसैले नगरौं । बिन्ती छ ।

प्रिय मित्रहरु, यो समय घरभित्रै थुनिएँ भनेर दिक्क पनि नमान्नु होला । हाम्रो वरपर सबै खराब मात्र भएका छैनन् । एकपटक बाहिर चिहाएर हेरौं त प्रकृतिको मुहार कसरी निखारिएको छ। हरदम शहरतिर हानिने गोडाहरु आज कसरी गाउँतिर बिस्तारै मोडिँदै छन्। पारिवारिक महत्व भुल्दै गरेका नवपिँढीहरुले एकाएक कसरी पारिवारिक एकताको महत्व बुझ्दैछन् । ती सालौंसाल बाँझा खेतहरु अब अन्न झुल्ने आसमा कति मुग्ध छन् । करेसाबारीहरुले कसरी अब लटरम्म फलफूल, तरकारी फलाउने सपना बुन्दैछन् । आकाश आफ्नो स्वनिर्मलता बोकी कसरी झन्झन् निलो बन्दैछ । बिना बैंश मुर्झाएका फूलहरु निस्चिन्तताका साथ फेरि कसरी मुस्कुराउँदै छन् ।

मान्छेका कोलाहलभित्र कैदी बनेका चराहरु आज कसरी निर्धक्क साथ पखेटा फिँजाएर उड्दैछन् । रसायानिक धुवाँ, धुलो बिनाको स्वच्छ हावा कसरी आज हाम्रो झ्यालसम्म ठोक्किन आइपुग्दैछ। त्यसैले, यो समय परनिन्दा भन्दा आफ्नो अन्तरमनको यात्रामा जोड दिउँ। चीन, अमेरिकाका रोबोटिक उदय या अस्तताका कुराभन्दा मानवीय मूल्य( मान्यताका धरोहरहरुलाई अझ बलियो, अझ मजबुत बनाउने कसरी ? त्यो बारे सोचौं । परनिर्भरताको न्यूनीकरण गरी स्वावलम्बनका चिरस्थायी बाटोहरु के के हुन सक्छन्, त्यसको खोजी गरौं । अझसम्म पनि हाम्रो आपूर्तिहरुमा त्यति कमी आइसकेको छैन। त्यसैले भित्र थुनिनु बाहेकका अरु समस्याले हामीलाई त्यति गाँजिसकेको छैन।

त्यसैले अझै पनि हामी आफ्नो खाली मस्तिष्कले प्रकृति हामी बिरुद्ध उभिएर अन्याय गरेको आभाष गर्छौ। जन्मदिने आमा हुन् या आफ्नो छातीमा हामीलाई पाल्ने प्रकृति यी कहिल्यै पनि आफ्ना सन्तानसँग रिसाउँदिनन्, अन्याय गर्दिनन् । केही गल्ती भएको भए झक्झाउँछिन्, सम्झाउने चेष्टा गर्छिन् । यो अहिलेको बिनास हामी मानव समुदायको आँफैले गरेको अतीको खती हो र यस्ता ज्यानमारा भाईरसहरु अतीका बारेमा सोच्नु पर्ने सूचकहरु हुन् । यदि प्रकृतिले अन्याय गर्थिन भने हामीले उनको रक्षामा धर्म छोडे झैं उनले पनि हाम्रो मौलिक बाँच्ने आधारहरुमा आफ्नो धर्म छोड्थिन् । उनले आफ्नो धर्म नछाडेका कारण नै हामी घरभित्रै थुनिए पनि बाहिर हाम्रा बाँच्ने आधारहरु अझै ज्युँदो छन् । घाम उदाएकै छ, हावा बहेकै छ, माटोले हाम्रो खाना उब्जाएको नै छ, खोलाहरु आफ्नै गतिमा कलकल गरी बगेका नै छन् ।

त्यसैले, यो लकडाउनलाई आफू र आफू बसेको धर्तीका बारेमा फेरि एकपटक सोच्ने मौका दिएको मान्छु म त । यो मौकालाई हामी सबैले सक्दो सकारात्मक कर्मतिर लगाउँदै आफू पनि बाँचौ र आफू बस्ने धर्तीलाई पनि स्वास्थ्य राखेर बचाउँ । अस्तु ।।

 

(फेसबुकको टाइमलाइनमा लेखिएका यी भावनात्मक वाक्यहरुले प्रवासमा बस्ने नेपाली मनहरुको पक्कै पनि प्रतिनिधित्व गरिहेको छ भन्ने बुझेर लेखकसँग सामाजिक सञ्जालमा नै अनुमति लिएर साभार गरिएको हो । –सम्पादक)

सम्बन्धित खबर